रसुवामा आएको विनाशकारी बाढीपछि सशस्त्र प्रहरी बल, नेपालले उद्धार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ।
सशस्त्र प्रहरीले बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ। बाढीमा परी गम्भीर घाइते भएकाहरूलाई तत्काल प्राथमिक उपचार प्रदान गर्नुका साथै आपत्कालीन सडक उद्धारका लागि Mass Casualty Vehicles सहितको चिकित्सा तथा उद्धार (MEDEVAC) टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बाढी प्रभावितको उपचारका लागि नेपाल एपीएफ अस्पतालमा आवश्यक बेड खाली राखिएको छ। त्यस्तै, नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिटलाई समेत सम्भावित विपद् उद्धारका लागि अलर्ट अवस्थामा राखिएको छ।
नदी किनारका जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीका गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाउने र माइकिङ गरी सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान सूचना प्रवाह भइरहेको छ। नुवाकोटको विदुरमा अस्थायी हेल्थ क्याम्प स्थापना गरी सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका Disaster Relief System (DRS) कन्टेनर आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल पठाउने काम भइरहेको छ। देशका अन्य भागमा रहेका DRS कन्टेनरलाई समेत प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गर्न थालिएको छ।
यसैगरी, भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप सम्भावित हिमताल विस्फोट (GLOF) वा बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त गर्न चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर संवाद तथा सूचना आदानप्रदान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीका कारण नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक तथा कोरिडोरमा खसेका पहिरो हटाएर उद्धार र अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने कामसमेत तीव्र पारिएको छ।
बाढी प्रभावित क्षेत्रमा थुनिएका वा हराइरहेका नागरिकको खोजी तथा बाढीबाट भएको क्षतिको मूल्याङ्कनका लागि सशस्त्र प्रहरीले ड्रोनसमेत परिचालन गरिरहेको छ। रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढीले पुरिएका व्यक्तिको खोजीका लागि K9 Sniffer Dogs सहितको खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन बाढी प्रभावित क्षेत्रमा आपत्कालीन हेलिप्याड (Landing Zones) तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाउने काम पनि भइरहेको छ।
यसैबीच, बाढीका कारण विस्थापित नागरिक बसेका शिविरमा हैजा तथा पानीजन्य रोग फैलिन नदिन सशस्त्र प्रहरीलाई आपत्कालीन खानेपानी शुद्धीकरणका औषधि वितरण गर्न निर्देशन दिइएको छ।
सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै सम्भावित थप जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर विभिन्न मोर्चामा काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया