बलिउड अभिनेता अमिताभ बच्चनले ढिला घर फर्किँदा पत्नी जया बच्चनको गालीबाट बच्न आफूले अपनाउने उपायबारे रमाइलो किस्सा सुनाएका छन्।
‘कौन बनेगा करोडपति १८’ को एक एपिसोडमा एक प्रतियोगीले अमिताभलाई ढिला घर पुग्दा जया बच्चनले गाली गर्ने गर्छिन् कि गर्दिनन् भनेर सोधेका थिए। जवाफमा अमिताभले आफू सुटिङका कारण ढिला हुने भए परिवारलाई पहिले नै जानकारी गराउने गरेको बताए।
उनका अनुसार बिहानै परिवारका सदस्यहरू रहेको समूहमा अभिवादनसहित आफू कहाँ सुटिङमा गएको र ढिला हुने भएकाले खाना नपर्खिन आग्रह गर्ने गर्छन्। यसरी पहिले नै जानकारी गराउँदा आफूलाई पछि हुने प्रश्न तथा गालीबाट बच्न सहयोग पुग्ने उनले बताए।
अमिताभले घरमा कर्मचारीहरू नभएको अवस्थामा आफूले सरसफाइलगायत घरायसी काम आफैं गर्ने गरेको पनि बताए। खाना पकाउन भने आफूलाई नआउने भन्दै कहिलेकाहीँ बाहिरबाट खाना मगाउने वा जया बच्चनलाई पकाइदिन आग्रह गर्ने गरेको उनको भनाइ थियो।
अमिताभ र जयाले सन् १९७३ जुन ३ मा विवाह गरेका थिए। उनीहरूका दुई सन्तान श्वेता बच्चन र अभिषेक बच्चन छन्।

प्रतिक्रिया