अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शरणका लागि आवेदन दिएका वा शरण खोजिरहेका दुई लाखसम्म विदेशी नागरिकको व्यापार र पर्यटन भिसा रद्द गर्ने तयारी गरेको छ।
यो कदम कार्यान्वयन भए अमेरिकी इतिहासमै भिसाको सबैभन्दा ठुलो सामूहिक खारेजी हुन सक्नेछ। साथै, यसविरुद्ध कानुनी चुनौती आउन सक्ने बताइएको छ। राज्य विभागका कागजातअनुसार कुनै संशोधन नभएमा विदेश विभागले आगामी हप्ताहरूमा सन् २०१६ देखि २०२६ बिच जारी गरिएका बी-१ र बी-२ भिसा रद्द गर्ने घोषणा गर्ने अपेक्षा गरिएको छ। गृह सुरक्षा विभागसँगको समन्वयमा यो कारबाही अगाडि बढाइनेछ।
विदेश विभागका प्रवक्ता टमी पिगोटले भने, ‘हामी छोटो अवधिका आगन्तुक भएको दाबी गर्दै संयुक्त राज्य अमेरिका आएका तर त्यसपछि स्थायी रूपमा यहाँ बस्न शरण मागेका विदेशीहरूको गैरआप्रवासी भिसा पहिचान गरी रद्द गर्न गृह सुरक्षा विभागसँग समन्वय गरिरहेका छौं।’ उनले रद्द हुन सक्ने भिसाको संख्या परिवर्तन भइरहने र प्रक्रिया क्रमिक रूपमा अगाडि बढ्ने बताए।
अधिकारीहरूका अनुसार भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई तत्काल देश निकाला गरिने छैन। हाल विचाराधीन शरणसम्बन्धी मुद्दा भएका धेरै व्यक्तिको स्थिति पुनः वर्गीकरण गरिने भए पनि उनीहरूले व्यापारिक वा पर्यटकका रूपमा अमेरिका बस्ने हैसियत गुमाउनेछन्।
राष्ट्रपति ट्रम्पले गत वर्ष दोस्रो कार्यकाल सम्हालेदेखि भिसा आवेदकमाथि कडाइ बढाउँदै आएका छन्। आवेदकहरूको सामाजिक सञ्जालसम्बन्धी विवरण माग्ने, भिसा प्रक्रियाका लागि महँगो धरौटी राख्न लगाउने र केही देशका नागरिकलाई भिसा जारी गर्न पूर्ण रूपमा रोक लगाउनेजस्ता कदम चालिएका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले पर्यटक र व्यापारिक भिसाको प्रयोग गरेर अमेरिका प्रवेश गरी पछि शरणका लागि आवेदन दिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले एक्समा लेखे, ‘अमेरिका र विश्वभरका मानिसहरू नक्कली शरण दाबीबाट दिक्क भएका छन्। आप्रवासन कानुन छल्न शरण एउटा बाटो हुनु हुँदैन।’
सामान्यतया व्यापारिक यात्राका लागि बी-१ र पर्यटन, परिवार भेटघाट वा स्वास्थ्योपचारका लागि बी-२ भिसा जारी गरिन्छ। अहिले रद्द गर्ने तयारी गरिएका भिसामध्ये कति जना प्रभावित हुनेछन् भन्ने यकिन संख्या भने स्पष्ट भइसकेको छैन। नयाँ बी-१ र बी-२ भिसाका आवेदकले अमेरिकामा शरणका लागि आवेदन नगर्ने र भ्रमणपछि स्वदेश फर्किने उद्देश्य रहेको प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ।
विगत १८ महिनामा विदेश विभागले विभिन्न अपराधमा दोषी ठहरिएका वा अभियुक्त रहेका व्यक्तिका साथै अमेरिकी नीतिविरुद्ध सार्वजनिक रूपमा बोल्ने केही व्यक्तिका गरी करिब एक लाख ७५ हजार भिसा रद्द गरिसकेको छ।
प्रशासनले जन्मसिद्ध नागरिकता लिने उद्देश्यले अमेरिका आउने गर्भवती महिलालाई लक्षित गर्दै ‘जन्म पर्यटन’ माथि पनि कडाइ गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाबाट शरणसम्बन्धी आवेदनको विवरण प्राप्त गरेपछि हालका बी-१ र बी-२ भिसाधारकको जाँच तीव्र पारिएको छ। एजेन्सी

प्रतिक्रिया