परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्।
असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन उनी सर्बिया जान लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।
सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभा हुँदैछ।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। ६५औं वार्षिक उत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।
कार्यक्रममा विश्वका नेताहरू, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ।
नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्त अङ्गीकार गर्दै आएको छ।
संविधानले असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई प्रमुख नीतिका रूपमा स्वीकारेको छ।
नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा अन्य बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ। उनी सर्बियाबाट भदौ १७ गते फर्किने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया