युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले यस वर्षको अन्त्यसम्म थप तीन लाख सैनिक परिचालन गर्न सक्ने दाबी गरेका छन्।

पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्र कब्जा गर्ने प्रयासलाई तीव्रता दिन रूसले ठुलो संख्यामा सेना थप्ने उनको भनाइ छ। जेलेन्स्कीले रूसले ठुलो संख्यामा सैनिक गुमाए पनि युक्रेनी भूभाग कब्जा गर्ने प्रयास जारी राख्ने बताए। उनका अनुसार यस वर्षको सुरुदेखि रूसले दुई लाख ६७ हजार सैनिक गुमाएको छ। तीमध्ये करिब एक लाख ५५ हजार मारिएका हुन्।

रूसमा अर्को महिना संसदीय चुनाव हुँदैछ। चुनावपछि नयाँ सैन्य परिचालन हुन सक्ने अनुमानबिच जेलेन्स्कीले भने, ‘हामीलाई विश्वास छ कि चुनावपछि उनीहरूले परिचालन गर्नेछन्।’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेट्स्क कब्जा पूरा गर्न थप तीन लाख सैनिक परिचालन गर्ने भन्दै उनले भने, ‘उनीहरूले त्यहाँ यी सबै तीन लाख नयाँ परिचालन गरिने रुसी सैनिक गुमाउनेछन्। हामी उनीहरूलाई समाप्त गर्नेछौं।’

युक्रेनी सेनाले डोनेट्स्क क्षेत्रको करिब २० प्रतिशत भूभागमा नियन्त्रण कायम राखेको जेलेन्स्कीको दाबी छ। स्लाभियान्स्क र क्रामाटोर्स्कजस्ता रणनीतिक सहर पनि यही क्षेत्रमा पर्छन्। रूसलाई डोनेट्स्कको सम्पूर्ण क्षेत्र कब्जा गर्न कठिन हुने उनले उल्लेख गरेका छन्। साथै, रूसी सेनाले खार्किभ र सुमी क्षेत्रमा दबाब बढाउन सक्ने उनको आंकलन छ।

सो अवसरमा जेलेन्स्कीले युक्रेनलाई उपलब्ध हुने प्याट्रियट मिसाइलको संख्या घटिरहेको बताए। उनका अनुसार सन् २०२३ मा ६७५ वटा प्याट्रियट मिसाइल उपलब्ध गराइएको थियो भने यस वर्ष करिब २६४ मात्रै प्राप्त हुने अनुमान छ। ‘दुर्भाग्यवश, कमी आउने प्रवृत्ति छ। यो मुख्य रूपमा अमेरिकी पक्षमा निर्भर गर्दछ,’ उनले भने।

अमेरिकाले आफ्नो प्याट्रियट मिसाइल भण्डारको १० प्रतिशतसम्म युक्रेनलाई उपलब्ध गराए आफूहरूले त्यसको भुक्तानी गर्न तयार रहेको पनि उनले स्पष्ट पारे। युरोपबाट एस्टर हवाई रक्षा क्षेप्यास्त्र प्राप्त गर्न पनि समस्या भइरहेको उनको भनाइ थियो। ‘पर्याप्त एस्टर क्षेप्यास्त्र छैनन्, यद्यपि तिनको उत्पादन भइरहेको छ,’ उनले भने।

जेलेन्स्कीले रूसभित्रका सैन्य केन्द्रमा आक्रमण गर्न युक्रेनले लामो दूरीका ड्रोन र क्रुज मिसाइल प्रयोग गरिरहेको बताए। उनले रूसले वार्षिक करिब एक हजार ३०० ब्यालिस्टिक मिसाइल उत्पादन गर्न सक्ने दाबी पनि गरेका छन्।

उनले रूसभित्रका गतिविधि निगरानी गर्न स्टारलिंकको उपग्रहसम्बन्धी क्षमताको प्रयोग गर्ने विषयमा पनि चर्चा गरेका छन्। उनका अनुसार स्टारलिंकका मालिक एलन मस्कले युक्रेनले रूसी भूमिमा स्टारलिंक प्रयोग गर्दा युद्ध थप बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई लाइसेन्स लिएर प्याट्रियट मिसाइल उत्पादन गर्न दिने सम्भावनाबारे बताएका थिए। तर पछि यो योजनाबाट पछि हटेको बताइएको छ। अमेरिकी पक्षबाट स्टीभ विटकफ र जारेड कुशनरलगायतसँग युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल भइरहेको छ।

यसैबिच, बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार युक्रेन भ्रमण गर्ने कार्यक्रम रहेको र त्यस क्रममा युक्रेनको लामो दूरीको क्षेप्यास्त्र कार्यक्रमलाई सहयोग गर्ने विषयमा छलफल हुने बताइएको छ।

युद्ध अन्त्यका लागि अमेरिकी पक्षसँग छलफल भइरहेको बताउँदै उनले डोनबासबाट पछि हट्ने वा अस्वीकार्य सर्त स्वीकार नगरी समाधान खोज्न प्रयास भइरहेको जनाए। ‘अमेरिकीहरू हामीसँग र रूसीहरूसँग युद्ध अन्त्य गर्ने यथार्थपरक विकल्पबारे छलफल गर्न चाहन्छन्,’ जेलेन्स्कीले भने।

चार वर्षभन्दा धेरै समयदेखि जारी युद्ध रोक्न भएका हरेक पहल असफल हुँदै आएका छन्। एजेन्सी