नेकपा एमालेकी नेतृ सुनिता बरालले समाजमा बढ्दो असुरक्षा र मानवताको संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबैलाई एकताबद्ध हुन आह्वान गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले भनिन्, ‘हामी कहाँ छौँ ? हामीले खोजेको कस्तो समाज हो ? के बनाउन चाहिरहेका छौँ ? हरेक सदस्यले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ। किनकि समाज हाम्रो हो। हामी सबै एक-एक भएर मिलेर नै समाज बन्छौँ।’
उनले समाजमा सामीप्यता हुनुपर्ने ठाउँमा डर र असुरक्षा बढेको बताएकी छन्। संसारकै उत्कृष्ट संविधान बनाएर गर्व गर्ने नेपालीहरूले आज आफ्ना छोरी, चेली, आमा, दिदीबहिनीदेखि नाबालक र वृद्धासम्म असुरक्षित हुनुपर्ने अवस्था भोगिरहेको उनको भनाइ रहेको छ। यस्तो अवस्थाप्रति प्रश्न गर्दै उनले भनिन्, ‘यो कस्तो उत्कृष्टता हो ? र, हामीले खोजेको समृद्धि र सभ्यता यही हो ? यस्तो उत्कृष्टता भन्दा बरु केही कमजोरी नै स्वीकार गरौँ। तर सुरक्षित रूपमा एउटा मानव भएर बाँच्न पाउने अधिकारलाई मर्न नदिऔँ, जीवित राखौँ।’
नेतृ बरालले हरेक मानिसलाई सम्मानपूर्वक, स्वतन्त्र र सुरक्षित भएर बाँच्ने अधिकार रहेको बताउँदै यसको रक्षाका लागि एकजुट हुनुपर्नेमा जोड दिइन्। अबको प्रश्न केवल कसको सुरक्षा भन्ने भन्दा पनि हरेक मानवको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने भएको उनको भनाइ छ। मानवताभन्दा ठुलो र मानव जातिको एकताभन्दा बृहत् संकल्प अरू केही हुन नसक्ने उनले औँल्याइन्।
उनले राष्ट्रियताको विषयमा विगतमाझैँ अहिले पनि राष्ट्रिय आवश्यकतालाई प्राथमिकतामा राखेर सही निर्णयमा पुग्न आग्रह गरिन्। आजको आवश्यकता विभाजन नभई एकता र आरोप-प्रत्यारोप नभई समाधान भएको बताउँदै उनले सबै वर्ग, लिंग, जाति र धर्मका नागरिकलाई सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि साझा संकल्प गर्न आह्वान गरेकी छन्।

प्रतिक्रिया