काठमाडौं — गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली सामाजिक प्रतिष्ठानले नेपालीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा एक भव्य “दर तथा तीज मिलन” कार्यक्रम सम्पन्न गरेको छ। राजधानीको एक पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा संस्थासँग आबद्ध महिला दिदीबहिनीहरूको उल्लेख्य उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा तीजका मौलिक गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिनुका साथै आपसी सद्भाव, मेलमिलाप र नेपाली सांस्कृतिक जगेर्नाको सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले दरका मिठा परिकारहरूको स्वाद लिँदै लोकभाकामा छमछमी नाचगान गरेर भरपूर मनोरञ्जन लिएका थिए। यस प्रकारका कार्यक्रमले महिलाहरूबीचको आत्मीयता र सामाजिक एकतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।
संस्थाका अध्यक्ष माधव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी कमला तामाङ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, बिहानी आवाजका अध्यक्ष रोशन कुमार थापा, समाजसेवी लक्ष्मी बोगटी र गायिका लक्ष्मी स्याङ्तान विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रतीक्ष खनालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष सुमन थापा र ज्ञान बहादुर लामाले भने विदेशबाटै भर्चुअल माध्यममार्फत शुभकामना सन्देश दिनुभएको थियो। उहाँले भौतिक रूपमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै चाडपर्वले आपसी प्रेम, सद्भाव र मेलमिलाप बढाउने धारणा राख्नुभयो।
संरक्षक सैंजुको प्रेरणादायी सन्देश!
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक रारा सैंजुले हाम्रो समाजमा संस्कार, सम्पदा, रीतिरिवाज र धर्म–संस्कृतिको संरक्षण गर्नुपर्ने खाँचो औंल्याउनुभयो। “एक विश्व, एक परिवार” को भावना आत्मसात गर्दै बन्धुत्व र भाइचारा अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो। विपन्न बालबालिकाको शिक्षामा पहुँच र गृहणी महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउनु आजको प्रमुख आवश्यकता रहेको उहाँले जोड दिनुभयो। कार्यक्रममा संस्थाका दुई उपाध्यक्षसहित कार्यसमितिका धेरैजसो सदस्यहरू वैदेशिक रोजगारी तथा कर्मथलोका कारण प्रवासमा रहेको विषयले भावुक बनाउँदा, संरक्षक रारा सैंजुले उनीहरूको अनुपस्थिति खड्किएको बताउनुभयो।
सामाजिक तथा शैक्षिक क्षेत्रमा प्रतिष्ठानको योगदान
मिलिजुली सामाजिक प्रतिष्ठानले कला र संस्कृतिको संरक्षणसँगै लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ। आर्थिक अभावका कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले प्रतिष्ठानले विपन्न तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री र पोसाक वितरण गर्दै आएको छ।
शिक्षा नै सामाजिक रूपान्तरणको बलियो आधार भएकाले आगामी दिनमा यस्ता अभियानलाई अझै प्रभावकारी रूपमा अघि बढाइने अध्यक्ष माधव शर्माले प्रतिबद्धता जनाउनुभयो।
विशेषगरी आर्थिक रूपमा विपन्न, असहाय तथा अवसरबाट वञ्चित विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउँदै आएको प्रतिष्ठानले आफ्नो क्षमता र स्रोतअनुसार शैक्षिक सामग्री, विद्यालय पोसाक, अध्ययनका लागि आवश्यक सामग्री तथा अन्य शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष शर्माले बताउनु भयो।
प्रतिष्ठानका उपाध्यक्ष ज्ञानबहादुर लामाले तीजको अवसरमा शुभकामना दिनुहुँदै यस संस्थाले नेपाली मौलिक संस्कृतिको संरक्षणका साथै आपसी सद्भाव र मेलमिलाप र एकता अभिवृद्धिका लागि काम गरिरहेको बताउनुभएको छ।
उहाँले प्रतिष्ठानले विगत लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा विभिन्न महत्वपूर्ण कार्यहरू गर्दै आएको स्मरण गराउँदै तीज पर्वले समाजमा थप सहकार्य र एकताको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। साथै संस्था को कोषलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रमको लागि प्रबास देखि प्रायोजन गरेको बताउनुभयो ।
सहयोगी सहकार्य र धन्यवाद ज्ञापन
कार्यक्रम संयोजकद्वय पूर्णिमा श्रेष्ठ र अजय पाण्डेका अनुसार संरक्षक रारा सैंजुसहित विदेशमा रहनुभएका उपाध्यक्ष ज्ञानबहादुर लामा, साइला लिम्बू, ओमराज कवर मगर र सन्तोष लामाको आर्थिक तथा भौतिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। सहयोगी हातहरूको साथ र सहकार्यकै कारण कार्यक्रम भव्य रूपमा सफल भएको आयोजकले जनाएको छ।
समाजका आवश्यकतामा रहेका वर्गलाई सहयोग गर्दै सहकार्यको संस्कृति विकास गर्ने यो अभियानलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको थियो।


प्रतिक्रिया
रमाइलो तिज कार्यक्रम