बलात्कारपछि हत्या गरिएको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको शव चार दिनदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

छोरीको शव अस्पतालमा छाडेर आमा, बुवासहित पीडित परिवार र स्थानीय बासिन्दा दोषीलाई फाँसीको माग गर्दै तीन दिनदेखि सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन्।

देशकै प्रमुख व्यापारिक ‘लाइफलाइन’ मानिने वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत सिमरामा उनीहरूले धर्ना र प्रदर्शन गर्दा सडक पूर्ण रूपमा ठप्प बनेको छ।

मृतक गरिमाका बुवा मनोज चौधरीले छोरीलाई धेरै कष्ट दिएर हत्या गरिएको बताएका छन्। निर्दोष छोरीलाई कष्ट दिएर हत्या गर्नेलाई बाँच्ने अधिकार नरहेको भन्दै दोषीलाई फाँसीको व्यवस्था गर्नुपर्ने उनको माग छ।

दोषीलाई फाँसी दिने कानुन निर्माण गर्नुपर्ने भएकाले गृहमन्त्री र कानुनमन्त्री सिमरा आएर कानुन निर्माणको प्रतिबद्धता जनाउनुपर्ने चौधरीले बताए। गृहमन्त्री आफैँ आएर प्रतिबद्धता नगरेसम्म सडकमा धर्ना र प्रदर्शन जारी रहने उनले बताए।

बिहीबार राति आफूहरूलाई झुक्याएर पाँचबुँदे सहमतिमा हस्ताक्षर गराइएको र उक्त सहमतिमा दोषीलाई फाँसी दिनेबारे कुनै प्रक्रिया अगाडि नबढाइएको उनले बताए।

मृतक बालिका गरिमा गत आइतबार बिहान घरआँगनमै खेल्ने क्रममा अचानक बेपत्ता भएकी थिइन्। परिवारले तत्कालै इलाका प्रहरी कार्यालय सिमरामा खोजतलासका लागि जाहेरी दिएको थियो। तर, प्रहरीले समयमै खोजी कार्यमा तदारुकता नदेखाएको परिवारको गम्भीर आरोप छ।

‘छोरी हराउनासाथ हामीले प्रहरीलाई गुहारेका थियौँ, तर प्रहरी प्रशासनले सुरुमै गम्भीरता देखाएन,’ मृतक बालिकाका बुवा मनोज चौधरीले गहभरि आँसु पार्दै भने, ‘यदि प्रहरीले पहिलो दिनमै सक्रियता देखाएर खोजी गरेको भए आज मेरी छोरी जीवितै हुन्थी।’

बेपत्ता भएको दुई दिनपछि मंगलबार साँझ घरभन्दा करिब दुई सय मिटर पर रहेको एउटा खाली घरभित्र कपडामा पोको पारेर फालिएको अवस्थामा बालिकाको क्षतविक्षत शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार बालिकाको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ। घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यता, गरिमाको न्यायको माग गर्दै सुरु भएको आन्दोलन सिमरामा मात्र सीमित रहेन। शुक्रबार बाराको सदरमुकाम कलैया र छिमेकी जिल्ला पर्साको वीरगञ्जमा समेत स्कुले विद्यार्थी, नागरिक समाज र युवाहरूले स्वतःस्फूर्त प्रदर्शन सुरु गरेका छन्।

घटनाको विरोधमा आक्रोशित वीरगञ्जका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्साको अगाडि र वीरगञ्ज घण्टाघरमा प्रदर्शन गरेका थिए। त्यसैगरी, कलैयामा पनि विद्यार्थी र स्थानीय बासिन्दाले ‘गरिमालाई न्याय देऊ, दोषीलाई फाँसी देऊ’ भन्ने नारासहित प्रदर्शन गरेका थिए।

शुक्रबार बारा सिमरा, कलैया र पर्साको वीरगञ्जमा भएको प्रदर्शनका कारण तीनवटै सहर दिनभर तनावग्रस्त बनेका थिए।

पीडित परिवार र स्थानीयको आन्दोलनका कारण शुक्रबार तेस्रो दिन पनि वीरगञ्ज–पथलैया व्यापारिक मार्ग पूर्ण रूपमा ठप्प रह्यो। सडक खुलाउन र उत्पन्न तनाव कम गर्न जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार पनि दिनभर वार्ताको प्रयास गरे पनि पीडित परिवारले गृहमन्त्रीसँग वार्ता गर्नुपर्ने माग गरेपछि स्थानीय प्रशासनसँग सहमति जुट्न सकेन।

शुक्रबार बिहानैदेखि पीडित परिवार र आफन्त न्यायको माग गर्दै सडकमा ओर्लिएका थिए। बिहीबार राति भएको सहमतिप्रति पीडित परिवार असन्तुष्ट बनेको सार्वजनिक भएपछि उनीहरूलाई समर्थन गर्न सिमरामा ठूलो संख्यामा स्थानीय बासिन्दा पुगेका थिए।

तीन दिनदेखि वीरगञ्ज–पथलैया व्यापारिक मार्ग पूर्ण रूपमा बन्द हुँदा देशको आर्थिक गतिविधिसमेत प्रभावित बनेको छ। वीरगञ्ज भन्सार तथा सुक्खा बन्दरगाहबाट औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तु लोड गरेर काठमाडौंलगायत देशका विभिन्न भागतर्फ छुटेका हजारौँ मालवाहक ट्रक, कन्टेनर र ट्याङ्कर सडकमा अलपत्र परेका छन्। सडक अवरोधका कारण यात्रुले समेत ठूलो सास्ती खेप्नुपरेको छ।