प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको ‘मायालु’ चलचित्रमा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन्। निर्देशक पौडेलले सिनेमाको मुख्य भूमिकामा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित गरिएको जानकारी दिएका हुन्।

निर्देशक पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए। ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हुनेछ।

घोषणा गर्दा सुरुमा सिनेमाको नाम ‘मेरो अधुरो प्रेम’ राखिएको थियो। हाललाई यो नाम होल्ड गर्दै ‘मायालु’ को कामअघि बढाइएको हो। मायालु’ प्रदर्शनपछि ‘मेरो अधुरो प्रेम’ को नाममा पनि सिनेमा बनाइने निर्देशक पौडेलले बताए।

आकृतिको यो दोस्रो सिनेमा हो। यसअघि उनले ‘मुक्तिपुर’ मा अभिनय गरेकी छन्। ‘मुक्तिपुर’ प्रदर्शन भएको छैन। पहिलो सिनेमा प्रदर्शनअघि नै आकृति नयाँ सिनेमामा आबद्ध भएकी हुन्।

नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी बुढाथोकी मोडलसमेत हुन्। ‘मायालु’ मा उनी मुख्य भूमिकामा देखिनेछिन्।

मुख्य अभिनेत्रीका रूपमा आकृति फाइनल भएसँगै सिनेमाका लागि सहायक अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए। ‘हामीले मुख्य अभिनेत्रीमा आकृति बुढाथोकीलाई टिममा जोडेका छौं। अब सहायक अभिनेत्रीको खोजीमा छौं,’ उनले भने।

यसअघि नै सिनेमाको मुख्य अभिनेताका कबीर खड्का अनुबन्धित भइसकेका छन्। निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेम कथामा आधारित हुनेछ। निर्देशक पौडेलकै कथा रहेको सिनेमाको पटकथा अनिल कुर्मीको पटकथा रहनेछ।

सिनेमामा मुख्य कलाकारबाहेक अन्य पात्रहरू अस्ट्रेलियाबाटै छनोट गरिने निर्देशक पौडेलले बताए। सिनेमाको छायांकन अस्ट्रेलिया र नेपालमा हुनेछ। अस्ट्रेलियाबाट नै सिनेमाको छायांकन सुरु हुनेछ।

साउनमा छायांकन सुरु गर्ने तयारी गरिएको भए पनि कलाकारहरूको भिसा प्रक्रियाका कारण सिनेमाको छायांकन समयमै सुरु हुन सकेन। अब भने दशैंपछि छायांकन सुरु गर्ने तयारी भइरहेको निर्देशक पौडेलले बताए। सिनेमा शरद महतोले छायांकन गर्नेछन्।

सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा सुरेन्द्र रावलको लगानी रहनेछ। उनले एउटा सुन्दर लभस्टोरी कथा दर्शकलाई पस्किने हेतुले सिनेमा निर्माणमा पाइला चालेको बताए। यो सिनेमाका सह-निर्माता विवेक पौडेल हुन्।

शिवाकर प्रसाईं कार्यकारी निर्देशक रहेको सिनेमामा सुनिल निउरे मुख्य सहायक निर्देशक र बमबहादुर थापा एसोसियट निर्देशकका रूपमा जोडिएका छन्। सिनेमामा अनमोल थापाको संगीत रहनेछ।

साउनमा छायांकन हुने भनिएको सिनेमा कलाकारको भिसा प्रोसेसका कारण समयमै सुरु हुन सकेन। अब भने दशैंपछि सिनेमाको छायांकन सुरु गर्ने तयारी भैरहेको निर्देशक पौडेलले बताए।