रूसले जापानले आफ्नो दाबी गर्ने टापुहरू नजिकै क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबिचको तनाव झनै बढेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता ती टापुहरूको भ्रमण गरेलगत्तै बिहीबार यो घटना भएको हो। परीक्षण ठ्याक्कै कहिले गरिएको हो भन्ने रूसले खुलाएको छैन। पुटिनको भ्रमणको जापानले विरोध गरेपछि रूसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको थियो। पुटिनले गत अगस्ट १३ मा ती टापुमध्येको सबैभन्दा ठुलो एटोरोफु टापुको भ्रमण गरेका थिए।

रूसी नौसेनाले एटोरोफु टापुमा नै रहेको क्षेप्यास्त्र प्रणालीबाट यो परीक्षण गरेको बताएको छ। यो परीक्षणमा रूसका ठुला युद्धपोत र आणविक पनडुब्बीले समेत भाग लिएका थिए। दुश्मनका जहाजलाई आक्रमण गर्ने अभ्यास गरिएको यो परीक्षणमा ३०० किलोमिटर टाढाका सबै लक्ष्य सफलतापूर्वक नष्ट गरिएको रूसी सेनाले जनाएको छ।

जापानी विदेशमन्त्री तोशिमितु मोटेगीले ओमानको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी ती चार वटा टापुमा रूसले सेना बलियो बनाउने कुरा कुनै हालतमा सहँदैनौँ।’

जापानले भने दोस्रो विश्वयुद्ध सकिनेबित्तिकै सोभियत संघ (हालको रूस) ले ती टापुहरू गैरकानूनी रूपमा कब्जा गरेको दाबी गर्दै आएको छ। रूसले भने युद्धको नियमअनुसार नै ती क्षेत्र आफ्नो भएको बताउँदै आएको छ।

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै जापान र रूसको सम्बन्ध बिग्रिँदै गएको छ। त्यसयता जापानलगायतका देशले रूसमाथि विभिन्न प्रतिबन्धसमेत लगाएका छन्। एजेन्सी