राप्तीसोनारीका बासिन्दाका लागि बिरामी हुनु भनेको रोगसँग मात्रै लड्नु थिएन, उपचार पाउनुपर्ने दूरीसँग पनि संघर्ष गर्नु थियो। रातको समयमा कसैलाई स्वास्थ्य समस्या देखियो भने गाउँमा तत्काल उपचारको भरपर्दो विकल्प थिएन। गर्भवती महिलालाई प्रसूति गराउन होस् वा स्थानीयलाई आकस्मिक उपचार चाहिँदा, घन्टौंको यात्रा गरेर कोहलपुर वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो। यही बाध्यताबिच भदौ १ देखि राप्तीसोनारी– ४ बैजापुरमै अस्पताल सञ्चालनमा आएको छ, जसले दुर्गम गाउँका नागरिकलाई ‘बिरामी पर्दा अब कहाँ जाने?’ भन्ने चिन्ताबाट केही हदसम्म मुक्त गराएको छ।

राप्तीसोनारी भौगोलिक रूपमा ठुलो क्षेत्र भएकाले सबै बस्तीबाट स्वास्थ्य संस्था पुग्न सहज छैन। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि उपचार खर्चसँगै यात्रा खर्च थपिन्थ्यो। कतिपयले यही कारण स्वास्थ्य समस्या बढिसकेपछि मात्रै अस्पताल पुग्ने अवस्था पनि थियो। स्थानीय तहमा अस्पताल स्थापना भएपछि प्रारम्भिक उपचार सहज हुने र गम्भीर बिरामीलाई मात्र बाहिर पठाउन सकिने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार अस्पताल सञ्चालनको मुख्य उद्देश्य नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने अवस्था अन्त्य गर्नु हो। उनका अनुसार अस्पताललाई विस्तारै आवश्यक जनशक्ति, उपकरण र सेवासहित व्यवस्थित बनाउने योजना छ।

‘अस्पताल सञ्चालन गर्नु पहिलो चरण हो। यसलाई प्रभावकारी स्वास्थ्य सेवा दिने संस्थाका रूपमा विकास गर्नुपर्नेछ’, पौडेल भन्छन्, ‘अहिले केही जनशक्ति अभाव छ। आवश्यकता हेरेर क्रमशः जनशक्ति थप्दै जाने छौं।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष मिनराज खड्का पनि अस्पतालले स्थानीयको लामो समयदेखिको आवश्यकता सम्बोधन गरेको बताउँछन्। उनका अनुसार सेवा सुरु भएसँगै नागरिकको अपेक्षा पनि बढेको छ। त्यसैले उपलब्ध सेवाको गुणस्तर कायम गर्दै थप उपचार सुविधा ल्याउनुपर्ने आवश्यकता छ।

अस्पतालको अर्को महत्त्वपूर्ण तयारी प्रसूति सेवासँग जोडिएको छ। आगामी असोजदेखि प्रसूतिको शल्यक्रियालगायत केही शल्यक्रिया सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। यसका लागि भेरी अस्पतालसँग सहकार्य गरिने भएको छ।

भेरी अस्पतालका विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्तीसोनारीमा ल्याएर विशेषज्ञ सेवा दिने तयारीसमेत गरिएको छ। यसले ग्रामीण क्षेत्रका महिलालाई प्रसूति उपचारका लागि टाढा जानुपर्ने अवस्थालाई कम गर्न सक्ने अपेक्षा छ। विशेषगरी आकस्मिक प्रसूति अवस्था आउँदा समयमै स्वास्थ्य संस्थामा पुग्नु महत्त्वपूर्ण हुने भएकाले स्थानीयस्तरमै सेवा विस्तारलाई नागरिकले सकारात्मक रूपमा लिएका छन्।

स्थानीय महिला विन्दु थारू भन्छिन्, ‘गर्भवती हुँदा नियमित जाँचका लागि पनि टाढा जानुपर्ने अवस्था थियो। शल्यक्रिया गर्नुपर्ने भए झन् ठूलो समस्या हुन्थ्यो। अब गाउँमै सेवा थपिँदै गए महिलालाई धेरै सहज हुनेछ।’

अस्पतालमा बालबालिकाको उपचार सेवा सुरु हुनु पनि अभिभावकका लागि राहतको विषय बनेको छ। बालबालिका बिरामी हुँदा सामान्य अवस्थामै टाढाको अस्पताल लैजानुपर्ने बाध्यता कम हुने उनीहरूको अपेक्षा छ तर अस्पताल सञ्चालनसँगै चुनौती पनि कम छैनन्। पर्याप्त स्वास्थ्यकर्मी, विशेषज्ञ चिकित्सक, उपकरण, औषधि तथा भौतिक पूर्वाधारको व्यवस्थापन गर्नुपर्नेछ। सेवा विस्तारसँगै बिरामीको चाप बढ्ने भएकाले त्यसअनुसार जनशक्ति र स्रोतसाधन जुटाउनुपर्ने देखिन्छ। गाउँपालिका भने अस्पताललाई विस्तारै पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारीमा छ। स्थानीयको आवश्यकता र मागअनुसार सेवा थप्दै जाने योजना रहेको अध्यक्ष पौडेल बताउँछन्।

राप्तीसोनारीमा अस्पताल सञ्चालन भएको केही समय मात्रै भएको छ। अहिले सेवा प्रारम्भिक चरणमा छ तर वर्षौंदेखि स्वास्थ्योपचारका लागि बाहिर निर्भर रहँदै आएका नागरिकका लागि यसको सुरुवात नै महत्त्वपूर्ण परिवर्तन हो। अब अस्पतालले स्थानीयको विश्वासलाई सेवा र गुणस्तरमा बदल्नुपर्नेछ।

चौबीसै घन्टाको सेवा, प्रसूति तथा बाल उपचारबाट सुरु भएको यात्रा विशेषज्ञ सेवा र शल्यक्रियासम्म विस्तार हुने तयारीमा छ। योजना कार्यान्वयन हुँदै गए र आवश्यक जनशक्ति तथा उपकरण थपिँदै गए राप्तीसोनारी अस्पताल दुर्गम क्षेत्रका नागरिकका लागि उपचारको भरपर्दो केन्द्र बन्न सक्नेछ। गाउँमै अस्पताल खुलेपछि स्थानीयको अपेक्षा एउटै छ, ‘बिरामी पर्दा उपचार खोज्दै टाढा जान नपरोस्।’ अहिले सुरु भएको सेवा त्यही अपेक्षा पूरा गर्ने दिशातर्फको पहिलो पाइला बनेको छ।