जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको क्रूर हत्याको विरोधमा बिहीबार बारा र पर्साका विभिन्न सहरहरू दिनभर अशान्त बने।
घटनाको विरोधमा आक्रोशित स्थानीय बासिन्दा र पीडित पक्षले गरेको आन्दोलनका कारण देशकै प्रमुख व्यापारिक ‘लाइफलाइन’ मानिने वीरगञ्ज-पथलैया सडकखण्ड बिहीबार दोस्रो दिन पनि पूर्ण रूपमा ठप्प रह्यो।
सडक खुलाउन र उत्पन्न तनाव कम गर्न जिल्ला प्रशासन कार्यालय बाराले दिनभर वार्ताको प्रयास गरे पनि आन्दोलनरत पक्ष र प्रशासनबीच कुनै सहमति जुट्न सकेन।
बिहीबार बिहानैदेखि पीडित परिवार, आफन्त र स्थानीय बासिन्दा न्यायको माग गर्दै सडकमा ओर्लिएका थिए। प्रदर्शनकारीहरूले जीतपुरसिमराका मुख्य चोक तथा ग्रामीण सडकहरूमा समेत टायर बालेर यातायात पूर्ण रूपमा अवरुद्ध पारे।
प्रदर्शनकारीको एउटा ठूलो समूहले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै चर्को नाराबाजी गर्यो। प्रहरी कार्यालय घेराउका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच पटक-पटक धकेलाधकेल र तनावपूर्ण स्थिति सिर्जना भएको थियो।
प्रदर्शनकारीहरूले घटनाको प्रारम्भिक अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीमाथि कारबाही हुनुपर्ने र पक्राउ परेका अभियुक्तहरूलाई हदैसम्मको कानुनी सजाय (फाँसी सरहको कारबाही) दिनुपर्ने अडान राखेका छन्।
सिमरामा स्थिति नियन्त्रणबाहिर जान नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार प्रदर्शनकारी आक्रोशित भए पनि सुरक्षाकर्मीले अत्यधिक संयमता अपनाएर सम्भावित ठूलो झडप हुन दिएका छैनन्।
मृतक बालिका गरिमा गत आइतबार बिहान घरआँगनमै खेल्ने क्रममा अचानक बेपत्ता भएकी थिइन्। परिवारले तत्कालै इलाका प्रहरी कार्यालय सिमरामा खोजतलासका लागि जाहेरी दिएको थियो। तर, प्रहरीले समयमै खोजीकार्यमा तदारुकता नदेखाएको परिवारको गम्भीर आरोप छ।
‘छोरी हराउनासाथ हामीले प्रहरीलाई गुहारेका थियौं, तर प्रहरी प्रशासनले सुरुमै गम्भीरता देखाएन,’ मृतक बालिकाका बुवा मनोज चौधरीले गहभरि आँसु पार्दै भने, ‘यदि प्रहरीले पहिलो दिनमै सक्रियता देखाएर खोजी गरेको भए आज मेरी छोरी जीवितै हुन्थी।’
बेपत्ता भएको दुई दिनपछि मंगलबार साँझ घरभन्दा करिब दुई सय मिटर पर रहेको एउटा खाली घरभित्र कपडामा पोको पारेर फालिएको अवस्थामा बालिकाको क्षतविक्षत शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार बालिकाको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ। घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
तीन वर्षीया बालिकामाथि भएको पाशविक घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरू बिहीबार शोक सभा आयोजना गरी बन्द गरिए।
शैक्षिक संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अवोध बालिकामाथिको जघन्य अपराधले सम्पूर्ण समाज र शैक्षिक जगतलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। उनीहरूले दोषीमाथि कुनै पनि राजनीतिक वा कानुनी दाउपेचबिना कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
यता गरिमाको न्यायको माग गर्दै सुरु भएको आन्दोलन सिमरामा मात्र सीमित रहेन। बिहीबार दिउँसोदेखि बाराको सदरमुकाम कलैया र छिमेकी जिल्ला पर्साको वीरगञ्जमा समेत नागरिक समाज र युवाहरूले स्वतःस्फूर्त प्रदर्शन सुरु गरेका छन्।
दुई दिनदेखि वीरगञ्ज-पथलैया व्यापारिक मार्ग पूर्ण रूपमा बन्द हुँदा देशको आर्थिक गतिविधि नै प्रभावित बनेको छ। वीरगञ्ज भन्सार तथा सुक्खा बन्दरगाहबाट औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तु लोड गरेर काठमाडौंलगायत देशका विभिन्न भागका लागि छुटेका हजारौँ मालवाहक ट्रक, कन्टेनर र ट्याङ्करहरू सडकमै अलपत्र परेका छन्। सडक अवरोधका कारण यात्रुहरूले समेत ठूलो सास्ती खेप्नुपरेको छ।
दिनभर सिमरामा वार्ताको वातावरण बन्न नसकेपछि साँझ जिल्ला सुरक्षा समितिको टोली आन्दोलनरत पक्षसँग संवादका लागि पथलैया पुगेको छ।
बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र मिश्रको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू सशस्त्र प्रहरी बलको २ नम्बर बाहिनी तालिम शिक्षालय पथलैया पुगेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले पीडित पक्षका प्रतिनिधिहरूसँग छलफल गरी रातिसम्ममा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिए। ‘हामी पीडित परिवारका जायज मागहरू सम्बोधन गर्न र अवरुद्ध बनेको राजमार्ग तत्काल खुलाउन प्रयासरत छौँ,’ उनले भने।

प्रतिक्रिया