जापानको फुकुओकामा अध्ययनरत झापा भद्रपुर–७, अन्जनी मोड निवासी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या भएको छ।
घटनाबारे जानकारी दिँदै झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठकले घटना सार्वजनिक भएलगत्तै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक प्रक्रिया सहजीकरणको काम अघि बढाइएको बताए। सम्बन्धित पक्षहरूसँग नियमित सम्पर्कमा रहेर घटनाको सहजीकरणका काम गम्भीरतापूर्वक अघि बढाइएको उनको भनाइ छ।
घटनाबारे जापान प्रहरीले समेत सूक्ष्म अनुसन्धान गरिरहेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार जापान प्रहरीले घटनाको छानबिनका लागि पाँच जनालाई नियन्त्रणमा लिएको छ।
मृतक राजवंशी जापानको फुकुओकामा अध्ययनरत थिइन्। उनको हत्याको खबरपछि परिवार तथा आफन्त शोकमा परेका छन्।
सामाजिक सञ्जालमा पोष्ट गर्दै सांसद पाठकले घटनाप्रति दुःख व्यक्त गरेका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र शव नेपाल ल्याउने प्रक्रियामा सम्बन्धित निकायले आवश्यक पहल गर्न सरकारसँग उनको माग छ।

प्रतिक्रिया