सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मतका लागि सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रस्ताव पेश गरेका छन्।

मुख्यमन्त्री भट्टले विश्वासको मत माग्न प्रस्ताव पेश गर्दै अवसर थोरै र चुनौती धेरै रहेको बताए। सङ्घीयताको मर्ममाथि प्रहार भइरहेको उल्लेख गर्दै प्रदेश संरचना आवश्यक छ भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाई छ।

उत्पीडनमा परेको सुदूरपश्चिम प्रदेशको जनताको जीवन स्तर उकासेर आत्मसम्मान, पहिचान र स्वाभिमान बढाउन आफूलाई मुख्यमन्त्रीमा विश्वासको मत दिन उनले आग्रह गरे।

आफूसँग हुटहुटी, सपना र सुदृढ लक्ष रहेको उनको भनाई छ। ‘कसको चुल्होमा के पाकेको छ ? आफ्नै आँखाले देखेको छु’ उनले भने, ‘जनताको निराशाको च्यादर च्यात्न सकिन्छ १ प्रदेश संरचना प्रतिको विश्वास बढाउन सकिन्छ।’

बजेट किनबेच गर्ने प्रदेशको पहिचान बदल्ने उनले प्रतिबद्धता गरे।

गत साउन २९ गते शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यही दिन प्रदेश प्रमुखले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

नेकपा एमाले र नेकपा समीकरणमा नयाँ सरकार बनेको छ। नेकपाको भागमा परेका ४ मन्त्री अझै नियुक्त भएका छैनन्। नेकपा एमालेका ३ मन्त्री र एक राज्य मन्त्री नियुक्त भएका छन्।

५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का एक जना प्रदेश सभा सदस्य छन्।

उनीहरूमध्ये पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने लामो समयदेखि अमेरिका रहेका कांग्रेसका प्रकाशबहादुर देउवालाई सभामुखले पदमुक्त गरेका छन्।

डडेलधुराबाट स्वतन्त्रबाट निर्वाचित डा.तारा जोशीले राजीनामा दिएकाले एक सिट रिक्त रहेको छ।