सरकारले प्रेस काउन्सिल नेपालमा चार जना नयाँ सदस्य नियुक्त गरेको छ। नियुक्त हुनेमा नागरिक दैनिककी स्तम्भकार नम्रता शर्मा, फोटो पत्रकार प्रकाश माथेमा, पत्रकार रविराज बराल र उपशना घिमिरे रहेका छन्।

नयाँ सदस्यको नियुक्तिसँगै काउन्सिलमा पत्रकारिता, फोटो पत्रकारिता तथा सञ्चार क्षेत्रका फरक अनुभव र पृष्ठभूमि समेटिने भएका छन्।

नवनियुक्त सदस्यलाई काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ गराएका छन् ।

सरकारले असार २४ गतेको निर्णय अनुसार श्रेष्ठलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको थियो । काउन्सिलको वेबसाइटमा निर्मला शर्मा सदस्यका रूपमा रहेकी छन् । उनी नेपाल पत्रकार महासंघकी अध्यक्ष हुन । सदस्य–सचिवको जिम्मेवारी सूचना तथा प्रसारण विभागका महानिर्देशक छबीन्द्र पराजुलीले सम्हालिरहेका छन्।

यसअघि काउन्सिलका अध्यक्षका रूपमा डा. कुमार शर्मा आचार्य नियुक्त भएका थिए। तर सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि उनको पद २०८३ वैशाख २१ गतेदेखि रिक्त भएको काउन्सिलकै अभिलेखमा उल्लेख छ। त्यसपछि सरकारले उमेश श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ ले काउन्सिलको गठनसम्बन्धी व्यवस्था गरेको छ। ऐनअनुसार नेपाल सरकारले अध्यक्ष एक जना र सदस्य नौ जना बढीमा चार वर्षका लागि नियुक्त गर्न सक्ने व्यवस्था छ। त्यस्तै, नेपाल पत्रकार महासङ्घका अध्यक्ष/सभापति पदेन सदस्य रहने र सूचना तथा प्रसारण विभागका महानिर्देशक सदस्य–सचिव रहने व्यवस्था छ।

प्रेस काउन्सिलको मुख्य उद्देश्य स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा पत्रकारिताको उच्चतम व्यावसायिक आचरण कायम गर्नु हो। पछिल्लो समय डिजिटल सञ्चार, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई)का कारण पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपिएका छन्।

यस्तो अवस्थामा नयाँ सदस्यहरूले काउन्सिलको आचारसंहिता कार्यान्वयन, पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, प्रेस स्वतन्त्रताको संरक्षण र डिजिटल माध्यममा देखिएका नयाँ चुनौती सम्बोधनमा भूमिका खेल्नुपर्ने अपेक्षा गरिएको छ।

काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले पदबहालीका क्रममा एआई र सामाजिक सञ्जालले ल्याएको परिवर्तित अवस्थामा काउन्सिलको भूमिकालाई पनि समयअनुकूल बनाउँदै लैजानुपर्ने बताएका थिए।