सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( ले आफ्ना सांसद तथा मन्त्रीहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टी सभापति रवि लामिछानेले संसद्मा सांसद तथा मन्त्रीहरूको व्यवहार, भाषा र प्रस्तुतिबारे चासो राखेका थिए।

पछिल्लो समय संसद्मा हुने प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएपछि सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार प्रदर्शन गर्ने गरेको भन्दै आलोचना हुँदै आएको छ। यही सन्दर्भमा रास्वपाले संसद्मा कसरी प्रभावकारी, जिम्मेवार र मर्यादित ढंगले प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको हो।

बैठकमा सांसद तथा मन्त्रीहरूले संसद्को गरिमा कायम राख्दै जनताका विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने विषयमा समेत विचार–विमर्श भएको बताइएको छ।