भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमण पूरा गरेर आज स्वदेश फर्कदैछन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी आइतबार काठमाडौं आएका थिए।
नेपालमा रहँदा उनले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरे। त्यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबिच सन् १९५० देखि एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहिआएको छ।
सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेनाध्यक्ष सेठबिच द्विपक्षीय भेटवार्ता भएको थियो। त्यस अवसरमा आपसी हित र दुई देशबिचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण पनि हस्तान्तरण गरेका थिए।
नेपाल बसाइको क्रममा उनले पशुपतिनाथ मन्दिरमा पुगी पूजाआजा समेत गरेका थिए। मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले बताएको छ।

प्रतिक्रिया