नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकार आफ्ना मागप्रति उदासीन बनेको आरोप लगाउँदै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय बन्द गरेको छ।

संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत रोकेको छ। संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानका लागि दिइएको समयसीमा समेत सकिएपछि अब पूर्ण रूपमा काम–कारोबार बन्द गरेको संघले जनाएको हो।

संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतले प्रक्रिया पूरा भइसकेका श्रमिकको उडानका लागि एक साताअघि नै सूचना जारी गरिएको बताए।

संघका अनुसार आजदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा बन्द रहने छन्। नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक कामसमेत ठप्प हुने छन्।

संघले श्रम मन्त्रालयको टोलीसँग शुक्रबार प्रारम्भिक छलफल भए पनि व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको जनाएको छ। मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्रीस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको संघको आरोप छ।

महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ।

संघले आफ्ना मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने जनाएको छ। वार्ता र संवादका लागि भने ढोका खुला रहेको संघको भनाइ छ।

संघले आफ्ना सदस्य संस्थालाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशनसमेत दिएको छ। संघको निर्णय अवज्ञा गरी काम सञ्चालन गर्ने संस्थाको अभिलेख राखी भविष्यमा संघबाट प्राप्त हुने सहयोग र संरक्षणबाट वञ्चित गरिने तथा आगामी समीक्षा भेलामार्फत कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।