नेपाल ‘ए’ का कप्तान अनिल साहले अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी ट्वान्टी क्रिकेट राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगितामा सहभागी हुन आयोजित बिदाइ कार्यक्रममा आइतबार अनिलले टोलीमा कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बमजस्ता अनुभवी खेलाडीहरूको उपस्थितिले राम्रो प्रदर्शन हुने बताए। साथै उनले युवा र उदीयमान खेलाडीहरूलाई नयाँ कुरा सिक्न र आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाली टोली सोमबार राति अस्ट्रेलियातर्फ प्रस्थान गर्ने तालिका छ। प्रतियोगिताको तालिकाअनुसा नेपालले अगस्ट २१ मा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्दै आफ्नो भ्रमणको सुरुआत गर्नेछ।
नेपालले अगस्ट २२ मा बंगलादेश हाई पर्फमेन्स, २४ मा होबार्ट हरिकेन्स, २६ मा एसिटी कमेट्स, २७ मा किंग्सम्यान र २९ मा भिक्टोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने तय भएको छ।
उक्त टी–२० सिरिजको समाप्तिपछि नेपाल ‘ए’ टोलीले थप अभ्यासका लागि न्युजिल्यान्ड ‘ए’, तास्मानिया र दक्षिण अस्ट्रेलियासँग एकदिवसीय खेलसमेत खेल्ने कार्यक्रम रहेको छ। टोलीका प्रशिक्षक राजु बस्न्यातले यस भ्रमणलाई नेपाली क्रिकेटको दीर्घकालीन हित र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि एक महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताए।
प्रशिक्षक बस्न्यातले नेपाल ‘ए’ टोलीको अवधारणाले नेपाली क्रिकेटको ‘बेन्च स्ट्रेन्थ’ बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
उनले पछिल्लो पाँच–६ महिनामा ‘ए’ टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरू सिनियर टोलीमा पुग्नु र फर्म गुमाएका सिनियर खेलाडीहरूले यहाँबाट पुनः लय समात्नु नेपाली क्रिकेटका लागि सकारात्मक पक्ष भएको उल्लेख गरे। ‘यो एक स्वाभाविक प्रक्रिया हो। अन्तर्राष्ट्रिय स्तरमा पनि स्थापित खेलाडीहरूले आफ्नो लय फिर्ता पाउन घरेलु वा ‘ए’ टोलीबाट खेल्ने अभ्यास छ,’ उनले भने।
अस्ट्रेलियाको खेलमैदान र वातावरणीय अवस्था (कन्डिसन) नेपाली खेलाडीहरूका लागि मुख्य चुनौती रहने देखिएको छ। गत वर्षको अनुभवलाई स्मरण गर्दै प्रशिक्षक बस्न्यातले ब्याटिङभन्दा पनि फिल्डिङमा बढी सुधार गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
‘अस्ट्रेलियाका मैदानमा बाउन्ड्री निकै ठूला हुन्छन् र लाइटको कारणले उच्च क्याचहरू लिन कठिन हुन सक्छ। हामी यी कन्डिसनहरूसँग चाँडै अनुकूलन (एडप्ट) हुन विशेष केन्द्रित छौं,’ उनले भने।
टोलीको सन्तुलन र हालैको तयारीबाट कप्तान र प्रशिक्षक दुवै सन्तुष्ट देखिएका छन्। नेपाली ‘ए’ टोलीले अस्ट्रेलियामा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको बताउँदै कप्तान साहले यस भ्रमणबाट नेपाली क्रिकेटले सकारात्मक नतिजा हासिल गर्ने अपेक्षा राखेका छन्।

प्रतिक्रिया