भदौ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट आएको छ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३ प्रतिशतमा झरेको छ। यो साउन महिनामा ४.१६ प्रतिशत थियो।
त्यसैगरी संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.११ प्रतिशतबाट घटेर ३.०८ प्रतिशत कायम भएको छ।
२० वाणिज्य बैंकमध्ये ५ बैंकले भदौका लागि ब्याजदर घटाएका छन् भने १५ बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घटाउने बैंकमा सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ०.२९ प्रतिशत र संस्थागत तर्फ ०.२० प्रतिशतले ब्याजदर घटाएको छ। नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाउँदा सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१ प्रतिशत, कुमारी बैंकले व्यक्तिगतमा ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.०५ प्रतिशतले ब्याजदर कम गरेको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। यस्तै, एनएमबी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन्।

प्रतिक्रिया