महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बलिउड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्रॉफलाई कारण देखाऊ सूचना पठाएको छ। ‘विमल इलायची’को विज्ञापनमार्फत महाराष्ट्रमा प्रतिबन्धित ‘विमल पान मसाला’को अप्रत्यक्ष प्रचार गरेको आरोप एफडीएले लगाएको छ।

एफडीएले ११ अगस्टमा तीनै अभिनेतालाई सूचना पठाउँदै विज्ञापनमा उनीहरूको भूमिकाबारे १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुखलाई उनको मुम्बईस्थित निवासमा, अजयलाई जुहूस्थित आवासमा र टाइगरलाई उनको उत्पादन कम्पनीको ठेगानामा सूचना पठाइएको छ।

एफडीएका अनुसार विज्ञापनमा ‘विमल’ नाम, उत्पादन र संवादको प्रयोग यसरी गरिएको छ कि यसले उपभोक्तामाझ ‘विमल’ ब्रान्डको प्रचार गर्ने देखिन्छ। ‘विमल’ ब्रान्ड पान मसालासँग समेत जोडिएकाले प्रतिबन्धित पान मसालाको अप्रत्यक्ष प्रचार भएको हुन सक्ने एफडीएको दाबी छ।

महाराष्ट्रमा तम्बाकु तथा निकोटिनयुक्त गुटखा र पान मसालामाथि लामो समयदेखि प्रतिबन्ध छ। पछिल्लो प्रतिबन्ध १३ जुलाई २०२६ देखि थप एक वर्षका लागि लागू गरिएको छ।

यसैबीच, एफडीएले प्रतिबन्धित गुटखा तथा तम्बाकुजन्य पदार्थविरुद्धको कारबाही पनि तीव्र बनाएको छ। २५ मेदेखि ३१ जुलाईसम्म ६५८ स्थानमा छापा मारिएको र करिब १५.११ करोड रुपैयाँ बराबरको प्रतिबन्धित सामग्री बरामद गरिएको एफडीएको तथ्यांकमा उल्लेख छ।

यस अवधिमा ५१९ वटा मुद्दा दर्ता हुनुका साथै ७०१ जना पक्राउ परेका छन्। प्रतिबन्धित सामग्री ओसारपसारमा प्रयोग भएका ७८ वटा सवारीसाधनसमेत जफत गरिएको छ।

प्रत्यक्ष रूपमा प्रतिबन्धित उत्पादनको विज्ञापन गर्न नमिल्ने अवस्थामा सोही ब्रान्डअन्तर्गतको अर्को उत्पादन, जस्तै इलायची वा अन्य वस्तुको विज्ञापनमार्फत ब्रान्डको प्रचार गर्नु सरोगेट विज्ञापन हो।

‘विमल इलायची’को विज्ञापन पनि यही कारणले विवादमा परेको बुझिन्छ। एफडीएको तर्क भने महाराष्ट्रमा पान मसालामाथि प्रतिबन्ध रहेकाले त्यसको अप्रत्यक्ष प्रचारसमेत स्वीकार्य नहुने भन्ने छ।

‘विमल इलायची’ अभियान यसअघि पनि नियामकीय विवादमा परिसकेको थियो। जनवरी २०२४ मा दिल्ली उच्च अदालतले तम्बाकुरहित उत्पादनको विज्ञापनसम्बन्धी कम्पनीको पक्षमा रहेको ट्रायल कोर्टको आदेशलाई कायम राखेको थियो।