पूर्व राप्रापा नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रले आफूलाई जेल हालेको विषयमा कुण्ठा र आक्रोश व्यक्त गरिरहेको बताएका छन्।
मिश्रले देउवालाई सम्बोधन गर्दै बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले राजतन्त्रबाट ठूलो पीडा भोगे पनि देशका लागि आवश्यक ठानेर राजसंस्था नत्यागेको बताए। उनले देउवाले पनि विगतको पीडा र प्रतिशोधभन्दा माथि उठ्नुपर्ने बताएका हुन्।
‘तपाईँजस्तो मान्छेमा समेत चरम कुण्ठा र प्रतिशोधको भाव देखेर म छक्क परेको छु,’ मिश्रले लेखेका छन्, ‘प्रतिशोधको भाव त्यागेर ‘प्रचण्डपथ’बाट ‘बीपीपथ’मा फर्किनोस्। नत्र कांग्रेस र देश दुवैको भविष्य खतरामा छ।’
मिश्रले आफूलाई ५० दिनका लागि हिरासतमा राखिएको प्रसंग निकाल्दै राजनीतिक जीवनमा आफूले भोगेका घटनाका आधारमा प्रतिशोधको भाव राख्न सकिने भए पनि त्यसलाई राजनीतिमा हाबी हुन दिन नहुने बताएका छन्।
उनले नेपालमा राजसंस्था भएको भए गत भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिटको अवस्था नआउने र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था नआउने समेत गरेका छन्।
यसअघि शनिबार पनि मिश्रले देउवाले विस्तारै ‘प्रचण्डपथ’बाट ‘बीपीपथ’मा फर्किएको संकेत गर्न थालेको बताएका थिए।
देउवाले लिखित भाषणमा बीपी कोइराला र राष्ट्रिय मेलमिलापको चर्चा गरेको तथा भाषणपछि ‘संवैधानिक राजसंस्था’ र ‘प्रजातन्त्र मान्ने राजसंस्था’ आफूले मानेको भन्दै मिश्रले त्यसलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका थिए।

प्रतिक्रिया