अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्। पहिरोमा परी केही घाइते भएका छन्। पहिरोले घर तथा टहरा भत्किनुका साथै ठूलो संख्यामा स्थानीय विस्थापित भएका छन्।
साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षापछि भेरी नगरपालिका–२ रिसाङसहित आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोमा परी भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा साउन ३१ गते बिहान ४ः५० बजे मृत्यु भएको छ।
यसअघि, भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा साउन ३१ गते बिहान ८ः५५ बजे मृत फेला परेका थिए।
पहिरोमा परी भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ।
आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई साउन ३१ गते बिहान ७ः१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ। भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
पहिरोबाट जोगिन भाग्ने क्रममा भेरी नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ की करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज गरिएको छ।
पहिरोले भेरी नगरपालिका–३ स्याला बस्ने पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको छ कोठे दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिस बस्दै आएका थिएनन्।
पहिरोको जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ। यस्तै झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ। यसरी पहिरो प्रभावित क्षेत्रका २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा राखिएको छ।
पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली जोखिमका बीच पैदलमार्फत घटनास्थलमा पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्। लगातार वर्षा भइरहेकाले घटनास्थलमा थप पहिरोको जोखिमसमेत रहेको छ।

प्रतिक्रिया