इन्डोनेसियाको तटमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर कम्तीमा ४७ जनाको मृत्यु भएको छ।
जानकारी अनुसार ५० जना घाइते भएका छन् भने धेरै भवनहरू भत्किएका छन्। अधिकारीहरूले दर्जनौं बासिन्दा घाइते भएको र मृत्यु हुनेको संख्या अझै बढ्ने चेतावनी दिएका छन्। भूकम्पलगत्तै अधिकारीहरूले सुनामी चेतावनी जारी गर्दै तटीय बासिन्दाहरूलाई अग्लो स्थानमा सर्न आग्रह गरेका थिए। तर, मौसम विज्ञान विभागले समुद्र सतहमा कुनै खतरनाक परिवर्तन नदेखिएको बताएपछि चेतावनी हटाइएको थियो। यद्यपि, केही स्थानमा साना सुनामीका छालहरू भने रेकर्ड गरिएका छन्।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार पूर्वी इन्डोनेसियाको फ्लोरेस क्षेत्रमा १० किलोमिटर गहिराइमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डे सहरबाट ६८ किलोमिटर उत्तर-उत्तरपश्चिममा थियो। मौसम विज्ञान विभागले भूकम्पपछि कम्तीमा २३५ वटा परकम्प गएको जनाएको छ, जसमध्ये सबैभन्दा ठुलो ६.४ म्याग्निच्युडको रहेको थियो।
एजेन्सीका अनुसार मङ्गाराई र पूर्वी मङ्गाराई क्षेत्रका तटीय गाउँहरूमा साना सुनामीका छालहरू पुगेका थिए। नगाडा क्षेत्रको तटीय गाउँ रिउङमा १.६१ मिटर अग्लो सुनामी आएको थियो, जसले गर्दा त्यहाँ हिलो र भग्नावशेष थुप्रिएको छ भने माछा मार्ने डुङ्गाहरू किनारमा अलपत्र परेका छन्। त्यसैगरी, एन्डेको मौरोलेमा ०.९४ मिटर र बुलुकुम्बा तथा बिमा क्षेत्रमा ०.५ मिटरभन्दा माथिका छालहरू रेकर्ड गरिएका थिए।
यसैबिच, शनिबार दिउँसो पश्चिमी इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा अर्को ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। यो निकै गहिराइमा गएकाले त्यसबाट ठुलो क्षति नभएको अधिकारीहरूले बताएका छन्। पूर्वी नुसा तेङ्गाराका प्रहरी प्रमुख रुडी डार्मोकोले बिजुली आपूर्ति बन्द हुँदा क्षति र उद्धारको विवरण संकलन गर्न कठिनाइ भएको बताए। ‘हामीले क्षति र हताहतको रिपोर्ट संकलन गर्न जारी राखेका छौं, तर सञ्चार अवरुद्ध भएको छ,’ उनले भने। उनले एन्डे रिजेन्सीमा आएको पहिरोले ट्रान्स-फ्लोरेस राजमार्ग अवरुद्ध गरेको जानकारी दिए।
राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीका प्रमुख सुहार्यान्टोले उद्धारकर्ताहरूले कम्तीमा ४७ वटा शव निकालेको र ५० जनाभन्दा बढीलाई अस्पताल लगिएको जानकारी दिए। उनका अनुसार भूकम्पले १५७ वटा घर पूर्ण रूपमा ध्वस्त पारेको छ भने २०० वटामा क्षति पुर्याएको छ। यसबाट करिब दुई हजार गाउँले विस्थापित भएर अस्थायी आश्रय स्थलमा बस्न बाध्य भएका छन्। विद्यालय, चिकित्सा केन्द्र र चर्चसहित १०० भन्दा बढी सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ।
सिक्काको राजधानी मौमेरेमा रहेको खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानले पहिरोका कारण दुर्गम गाउँहरू सम्पर्कविहीन भएकाले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। सरकारले उद्धार कार्यलाई तीव्रता दिन तीन वटा हेलिकप्टर र एक उद्धार जहाज परिचालन गरेको छ।
स्थानीय बासिन्दा योहाना एम्बुले मानिसहरू आतंकित भएर अग्लो स्थानतर्फ भागेको बताइन्। ‘यहाँ धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मैले मौमेरेको बन्दरगाह टर्मिनलको प्रतीक्षालय भत्केको देखेँ,’ उनले भनिन्।
त्यस्तै, सिक्काको सेन्ट पिटर मेजर सेमिनरीमा प्रार्थनाको तयारी गरिरहेका बेला छत भत्किएको सेमिनरीका रेक्टर रेभ. गाइडेलबर्टस टांगाले बताए। ‘हाम्रा विद्यार्थीहरू र साध्वीहरू भत्किएको छतमुनि आत्तिएर भागे,’ टांगाले भने, ‘भूकम्पको समयमा भवनको दोस्रो तलाबाट हाम फालेपछि कम्तीमा एक पादरीको खुट्टा भाँचिएको थियो।’
भूकम्पले कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वार लाबुआन बाजो सहरका साथै दक्षिण सुलावेसीका केही भागमा पनि असर पुर्याएको छ।
इन्डोनेसिया १७ हजारभन्दा बढी टापुहरू भएको ठुलो द्वीपसमूह हो, जो प्रशान्त महासागरको भूकम्पीय रूपमा अति संवेदनशील ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ। यसअघि सन् १९९२ मा फ्लोरेसमा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण करिब दुई हजार ५०० मानिसको ज्यान गएको थियो भने २०१८ मा ७.५ म्याग्निच्युडको भूकम्पले चार हजार ४०० भन्दा बढीको ज्यान लिएको थियो। एजेन्सी

प्रतिक्रिया