हलिउडका चर्चित निर्देशक तथा अभिनेता मार्क राइडेलको ९७ वर्षको उमेरमा निधन भएको छ। सन् १९८१ मा रिलिज भएको फिल्म ‘अन गोल्डेन पोन्ड’ तथा अभिनेत्री बेट्टे मिडलरका चर्चित फिल्म ‘द रोज’ र ‘फर द बोइज’ का लागि उनी ओस्कारमा मनोनित भएका थिए।

अभिनेत्री बेट्टे मिडलरले सामाजिक सञ्जालमार्फत मार्क राइडेलको निधनको जानकारी दिँदै उनलाई श्रद्धाञ्जली अर्पण गरेकी छन्। उनले आफ्नो पहिलो फिल्म ‘द रोज’ लाई सम्झिँदै राइडेलले आफूलाई अभिनयका क्रममा धेरै कुरा सिकाएको उल्लेख गरेकी छन्।

मिडलरले राइडेललाई कलाकारको भावना र आवश्यकतालाई निकै राम्रोसँग बुझ्ने निर्देशकका रूपमा सम्झिएकी छन्।

मार्क राइडेलले आफ्नो निर्देशन यात्रा टेलिभिजनबाट सुरु गरेका थिए। सन् १९६० को दशकको अन्त्यतिर डी.एच. लरेन्सको कथामा आधारित ‘द फक्स’ मार्फत उनले फिल्म निर्देशनमा प्रवेश गरेका थिए।

निर्देशकका रूपमा उनले आफ्ना कलाकारबाट उत्कृष्ट अभिनय निकाल्न सफल भए। उनले हेनरी फोंडा र क्याथरिन हेपबर्नलाई ओस्कार जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् १९८१ को ‘अन गोल्डेन पोन्ड’ बाट जेन फोंडा सहायक अभिनेत्रीको ओस्कार मनोनयनमा परेकी थिइन्।

उनले करिब ६ वर्षसम्म टेलिभिजन कार्यक्रम ‘एज द वर्ल्ड टर्न्स’ मा अभिनय गरेका थिए।