पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदाउँदा नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु विडम्बनापूर्ण भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत भट्टराईले बाह्य रूपमा झन् मडारिँदै गएको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक तथा सामाजिक–सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला विस्फोट हुनसक्ने खतरा बढ्दै गएको बताएका हुन्।

‘जेनजी विद्रोहको वर्षदिन पुग्नलाग्दा इतिहासबाट बिदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु बिडम्बनापूर्ण छ,’ उनले भनेका छन्।

भट्टराईले यस्तो अवस्थामा देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिहरूले विश्व इतिहास र आफ्नै इतिहासबाट सिकेर आ–आफ्नो भूमिका जिम्मेवारपूर्ण ढंगले निर्वाह गर्नुपर्ने बताएका छन्।

उनले पुराना शक्तिहरूले इख साँध्ने ढंगले ‘हलो अट्काएर गोरु चुट्ने’ तरिका अपनाउनुको सट्टा इमानदारपूर्ण आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन् । त्यस्तै, नयाँ सत्ताधारीहरूले अहंकारपूर्ण तरिकाले एक्लै आकाश थाम्न खोज्नुको सट्टा विनम्र र संयमपूर्ण ढंगले सबैको साथ लिएर राज्यको दायित्व पूरा गर्नुपर्ने उनको सुझाव छ।

‘अन्यथा गर्नु यो संगीन ऐतिहासिक घडीमा देश र जनताको निम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ,’ भट्टराईले चेतावनी दिएका छन्।

समाज परिवर्तन र लोकतान्त्रिक ढंगले राज्य सञ्चालन कुनै एकल दौड नभएको भन्दै उनले यसलाई रिले दौडको रुपमा व्याख्या गरेका छन्।

‘स्मरण रहोस्, समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढंगले राज्यसञ्चालन गर्नु एकल दौड हैन, रिले दौड हो,’ उनले भनेका छन्।