नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

शनिबार बिहान अन्दाजी ८:२५ बजे बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि ईभी भ्यान र बस सडकबाट अन्दाजी ३०/४० मिटर तल भिरमा खसेको थिए।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। घाइते मध्ये दुई जनालाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ बस्ने अन्दाजी ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।

घाइते हुनेहरू:

१.सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल अवस्था मध्यम

२. जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीया सर्मिला श्रेष्ठ अवस्था मध्यम

३. जिल्ला दोलखा, मेलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठ अवस्था मध्यम

घाइते तीन जनाकै ग्रिनसिटी अस्पतालमा उपचार भइ रहेको छ। बस चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ।