कहिलेकाहीं मनमा अनेक रङका सामान्य तरङ्ग आइपुग्छन्– हामीले कपालको रङ किन कालो मन पराउँछौं? कालो रङको अंगुर झनै गुलियो किन हुन्छ? पेलेका काला खुट्टाले कसरी जादुयी फुटबल खेले होलान्? त्यो कालो रङको बेलुन पनि अरू बेलुनजस्तै कसरी माथि माथि उड्छ? कोकको रङ किन कालो बनाएका होलान्? त्यो बोत्तलभित्रको पानीको रङ सेतो बनाएको भए हुँदैनथ्यो? कालो कोइलीको गलामा किन त्यति मिठो आवाजले वास गरेको हो? अनि यी सबै मनका वह पोख्ने अक्षरको रङ पनि मैले किन कालो नै रोजेको हुँला?

मलाई थाहा छैन– रङ राम्रो सेतो हुने हो कि कालो? मनको रङ सेतो हुन्छ कि कालो? जीवनको रङ कस्तो हुन्छ, सेतो कि कालो? सम्बन्धको रङ कस्तो भयो भने सुमधुर हुन्छ, सेतो कि कालो? आँखाको रङ कालो राम्रो कि खैरो?

कतै पढेको एउटा कथा सम्झन्छु– कुनै समय एउटा यात्रु पहाडको साँघुरो बाटो हुँदै रातमा हिँडिरहेको थियो। आकाशमा चन्द्रमा थिएन। बाटोमा बत्ती थिएन। वरिपरि केवल काला पहाड र सल्लाका बोटहरू थिए। उसलाई लाग्यो– अब केही देखिँदैन, अब अगाडि बढ्नुको अर्थ छैन। केही क्षण ऊ त्यहीं उभियो। त्यसैबेला उसले टाढा कतै एउटा सानो उज्यालो देख्यो। त्यो सानो उज्यालोले बाटो देखाउन सक्दैनथ्यो तर त्यो उज्यालो उसलाई रोकिराखेको डरभन्दा अगाडि जीवनलाई बढाउन भने पर्याप्त थियो।

ऊ त्यही उज्यालोलाई गन्तव्य बनाएर हिँड्यो र उज्यालो भएकै ठाउँमा पुग्यो। एउटा वृद्धको घरको झ्यालबाट निस्किएको मट्टितेलको बत्तीको उज्यालो थियो त्यो। वृद्ध बाहिर निस्केर मुस्कुराउँदै भने– बाटो पूरै देखिनुपर्छ भन्ने छैन बाबु, एक पाइला देखिए पुग्छ।

जीवन पनि यस्तै रहेछ। हामी भविष्यको सम्पूर्ण बाटो देख्न चाहन्छौं। जिन्दगी कुन मोडमा कसरी मोडिन्छ, ककसले साथ दिन्छन्, कहाँ पुगिन्छ, सबै कुराको निश्चितता खोज्छौं तर जीवनले भने एक कदम अगाडि बढ्ने बाटो मात्र देखाउँदो रहेछ। यो तथ्य हामीले बुझ्दैनौं। जिन्दगीको यात्रामा अगाडिको एक पाइलाबाहेक बाटोभरि जताततै अँध्यारो नै अँध्यारो हुन्छ। यो अँध्यारो सत्य स्वीकार्न भने हामीलाई गाह्रो नै पर्छ। वास्तविकता यही हो– हिँडिसकेको बाटो उज्यालो, हिँड्न बाँकी बाटो अँध्यारो। हामी बढ्ने अगाडि नै हो, त्यही अँध्यारो बाटो। खोज्ने अँध्यारोमा आभा नै हो।

हामी भविष्यको सम्पूर्ण बाटो देख्न चाहन्छौं। जिन्दगी कुन मोडमा कसरी मोडिन्छ, ककसले साथ दिन्छन्, कहाँ पुगिन्छ, सबै कुराको निश्चितता खोज्छौं तर जीवनले भने एक कदम अगाडि बढ्ने बाटो मात्र देखाउँदो रहेछ।

पराजय, एकान्त, प्रतीक्षा, असफलता, अनिश्चितता, यी सबै जीवनको आभा छोप्ने अँध्यारा ढकनी हुन्। आभा नदेखिने बेलासम्म त्यहाँ कुनै ताली बज्दैन, कुनै प्रशंसा सुनिँदैन। मानिस आफैँसँग प्रश्न गर्छ– म किन असफल भएँ? मेरो बाटो किन रोकियो? मैले गरेको सङ्घर्षको अर्थ के हो? वास्तवमा यिनै प्रश्नको गर्भबाट नै उज्यालो दृष्टिको जन्म हुन्छ।

गौतम बुद्धले राजदरबारको उज्यालो छोडेर दुःखको अँध्यारोतर्फ यात्रा नगरेका भए बोधिको उज्यालो भेटिन्थ्यो कि भेटिँदैनथ्यो? महात्मा गान्धीले जीवनभर अन्याय सहेर बसेको भए पाश्चात्य दमनविरुद्धको आवाज गन्तव्यमा पुग्थ्यो होला? विश्वेश्वरप्रसादहरू अँध्यारो शासनविरुद्ध नलडेको भए तानासाही रात तोडिएर प्रजातान्त्रिक बिहान उदाउँथ्यो? हेलेन केलरले अँध्यारो नयनभित्र संसारको आभा नखोजेको भए उनको चेतनाको उज्यालो त्यसरी फैलिन्थ्यो? मृत्युको अँध्यारोको सुनिश्चितता नभएको भए जीवनको उज्यालो यति मूल्यवान् लाग्थ्यो कि लाग्दैनथ्यो? कालो माटो हीरा, मोती, सुन वा यस्तै बहुमूल्य धातुभन्दा कैयौं गुणा मूल्यवान् हुन्छ। भोक समन गर्ने रोटी मूल्यवान् धातुभन्दा कम हुँदैन। कोइलाको दबाब र तापबिच जन्मने हीरा, समुद्रको गहिराइमा चम्किने मोती, अन्यायको पीडाबिच प्राप्त न्याय, गर्भको अँध्यारोबाट बाहिरी जगत्मा निस्किएको बालक, माटोको चापबिच फस्टाउँदो बिरुवा, औंसीको रातमा देखिएका नक्षत्र सबै अन्धकारका आभा हुन्।

अँध्यारोले कहिलेकाहीं हामीलाई लुकाउँछ तर कहिलेकाहीं त्यही अँध्यारोले हाम्रो वास्तविक अनुहार देखाउँछ। मान्छेले अरूलाई देखाउने उज्यालोमै हो, अँध्यारोमा त आफूले आफैँलाई हेर्ने हो। आफ्नो वास्तविकता आफैँले देख्ने अँध्यारोमै हो। आफूभित्रको आभा खोज्ने पनि अँध्यारोमै हो। अँध्यारोको सबैभन्दा ठुलो सौन्दर्य यही हो– यसले बाहिरी आँखालाई बन्द गराएर दृष्टिलाई खोलिदिन्छ।

एक वर्ष अगाडि भएको युवा विद्रोहको स्मृति आइरहेको छ मनमा। त्यस विद्रोहमा ज्यान गुमाएका ती युवाको अनुहार मनभरि आइरहेको छ। आफ्ना छोरा गुमाउँदा आमाहरू कति भक्कानिए होलान्, मैले कल्पना गर्न सकिरहेको छैन। ती आमाका लागि त्यो दिन कलङ्क बोकेको उज्यालो थियो, त्यो रात कलङ्क बोकेको अँध्यारो थियो। तर ती आमाले जस्तै देशले पनि सोच्यो कि सोचेन होला? देश पनि आफ्नो छातीमा ती युवा ढलेको देख्दा पक्कै रोयो होला तर त्यति नै बेला देशले यसरी पनि सोच्यो होला– युवाको त्यही रगतले युगौंदेखि जमेको आफ्नो जिउको घाउ सफा गर्‍यो, त्यही कालो रातमा अनवरत अत्याचारको विरासत ढल्यो।

गौतम बुद्धले राजदरबारको उज्यालो छोडेर दुःखको अँध्यारोतर्फ यात्रा नगरेका भए बोधिको उज्यालो भेटिन्थ्यो कि भेटिँदैनथ्यो? महात्मा गान्धीले जीवनभर अन्याय सहेर बसेको भए पाश्चात्य दमनविरुद्धको आवाज गन्तव्यमा पुग्थ्यो होला? विश्वेश्वरप्रसादहरू अँध्यारो शासनविरुद्ध नलडेको भए तानासाही रात तोडिएर प्रजातान्त्रिक बिहान उदाउँथ्यो?

केही दिन अगाडि भेटघाटका सन्दर्भमा सुनधारा कारागार गएको थिएँ। त्यहाँ आमाका काखमा धेरै बालबालिका थिए। एक हुल बच्चा कारागारको पिँढीमा खेलिरहेका थिए। ती आमाहरूले सजाय भोग्दै गर्दा ती बालबालिका बेकसुर कारागारको कोठरीमा कैद थिए। तिनलाई न पढाइको चिन्ता, न भविष्यको। सम्झेँ– देश सम्हालिसकेका अधिकांश नेता जेलनेल बसेकै योगदानस्वरूप पटक पटक देशको नेतृत्वमा पुगे। मनमनै सोचें– यिनीहरूमध्ये केही त अवश्य देशको नेतृत्वकर्ता बन्नेछन्। यिनको पनि जेल अनुभव राम्रो छ। यी अनेक दबाब र चापबिच माटोमा रोपिएका बिउजस्तै ऊर्जावान् छन्। यिनै हुन् अँध्यारो आभा।

अहिले बृहस्पति अस्त छ। हाम्रो नजरमा बृहस्पति सूर्यको उज्यालोभित्र लोप भएको छ। सूर्यको नजिकै जाँदा नै अस्ताउने हुन् ग्रह। शुभग्रह अस्त हुँदा हामीले शुभकर्मसमेत गर्दैनौं। यहाँ चहकिलो उज्यालो हाम्रा लागि वा ग्रहका लागि राम्रो कि नराम्रो? उज्यालोले त राम्रो नै गर्नुपर्ने हो तर त्यही उज्यालोले पूज्य ग्रहलाई दर्शनविहीन बनाएको छ, हाम्रो समय शुभमुहूर्तविहीन बनाएको छ। ब्रह्माण्डको आदिकालमा जताततै सघन अन्धकार थियो रे। ताराहरू पनि अन्धकारमै झल्किने हुन्। रात नहुने हो भने ताराको अस्तित्व नै देखिँदैन। यस्ता कुरा गरिरहँदा म अन्योलग्रस्त हुन्छु, राम्रो उज्यालो हो कि अँध्यारो? ठम्याउन गाह्रो पर्छ।

सामान्यतया हामी उज्यालोलाई सफलता ठान्छौं, अँध्यारोलाई असफलता। प्रकृतिको नियम भने अलि फरक छ। रातपछि बिहान आउँछ तर बिहान हुनुअघि रातले आफ्नो सम्पूर्ण अँध्यारो भोग्नुपर्छ। नदी समुद्रमा पुग्नुअघि कति ढुङ्गासँग ठोकिन्छ, कति घुम्ती पार गर्छ, कति गहिरा–अँध्यारा खोँचबाट बग्छ। नदीको वास्तविक कथा किनारमा बसेर देखिँदैन। मानिसको सफलताको चम्किलो अनुहारपछाडि पनि यस्तै अदृश्य अँध्याराहरू हुन्छन्। हामी जुन अँध्यारोमा उभिएका छौं, त्यसको गर्तभित्र उज्यालो आभा हुन सक्छ। बुझ्नुपर्छ– कतै देखिएको सानो दियो जीवनलाई अघि बढाउने पथप्रदर्शक पनि हुन सक्छ।

जीवन त एउटा लामो यात्राको पाण्डुलिपि हो, जहाँ आँसुका धर्सा, संघर्षका दाग, पराजयका खोच र विजयका हस्ताक्षर सबै सँगैसँगै हुन्छन्। त्यसैले मानिसको मूल्य उसको जीवनमा दाग छ कि छैन भन्ने कुराले होइन, त्यो दागले उसको चेतनामा कस्तो उज्यालो जन्मायो भन्ने कुराले निर्धारण गर्छ। अन्धकारमा चम्किने चन्द्रमामा पनि दाग देखिन्छ। पूर्णिमाको चन्द्रमा पनि पूर्ण रूपमा निर्दोष छैन। तर, त्यो दागले उसको सौन्दर्य घटाएको छैन। त्यो दाग त उसको पहिचान बनेको छ। चन्द्रमाको सतहमा ती खाल्डाखुल्डी नभएका भए मानिसले उसको अनुहारमा यति धेरै कथा पढ्न सक्थ्यो होला?

महात्मा गान्धीको जीवनी पढ्दा आएको अपमानको सन्दर्भ सम्झन्छु। दक्षिण अफ्रिकाको यात्राका क्रममा उनीसँग प्रथम श्रेणीको वैध टिकट थियो। रेलको डिब्बामा प्रवेश गरेपछि एक गोरो यात्रुले अश्वेत यात्रुसँग यात्रा नगर्ने भन्दै रेलको सुरक्षाकर्मीलाई बोलायो। गान्धीले आफ्नो प्रथम श्रेणीको टिकट देखाउँदै अर्को डिब्बामा जान अस्वीकार गरे। अन्ततः उनलाई बलपूर्वक सामानसहित रेलबाटै निकालियो। त्यही अँध्यारो रातमा उनले भारत फर्केर रङ्गभेद तथा साम्राज्यवादी गोरा शासकविरुद्ध सत्याग्रहलगायतका अहिंसात्मक आन्दोलन गर्ने निणय गरे। यही हो अँध्यारोको आभा! अपमानले जन्माएको विद्रोहको झिल्को थियो त्यो निर्णय।

एक वर्ष अगाडि भएको युवा विद्रोहको स्मृति आइरहेको छ मनमा। त्यस विद्रोहमा ज्यान गुमाएका युवाहरूको अनुहार मनभरि आइरहेको छ। आफ्ना छोरा गुमाउँदा आमाहरू कति भक्कानिए होलान्, मैले कल्पना गर्न सकिरहेको छैन। ती आमाका लागि त्यो दिन कलङ्क बोकेको उज्यालो थियो, त्यो रात कलङ्क बोकेको अँध्यारो थियो।

नेल्सन मन्डेला अँध्यारोमा बलेका अर्का प्रभावशाली दीप हुन्। अश्वेत भएकै कारण उनले विभेदकारी राज्यको कठोरता सहनुपर्‍यो, वर्षौं जेलका पर्खालभित्र बन्द हुनुपर्‍यो तर अँध्यारो कोठाले उनको दृष्टिको उज्यालो कैद गर्न सकेन। उनीहरूको शरीरको रङलाई संसारले कहिल्यै उज्यालोको प्रतीक मानेन तर उनीहरूको विचार, त्याग, साहस र मानवताले रङको अवधारणा नै उल्टाइदियो।

उज्यालो हुनु भनेको सेतो देखिनु होइन, अरूको अँध्यारो हटाउन आफूभित्रको दीप बलिरहनु हो। त्यसैले गान्धीको श्यामल शरीर र मन्डेलाको कालो वर्णलाई इतिहासले चेतनाको उज्यालो अनि अँध्यारोको आभा ठहर्‍यायो। आज हामी त्यो त्याग र सङ्घर्षशील ती अनुहारभित्र कालो रङ देख्दैनौं। उनीहरूको अनुहारमा सधैं प्रेरणाको आभा झल्किरहेको महसुस हुन्छ। इतिहास बदल्ने व्यक्तिहरूको यात्रा ‘तमसोमा ज्योतिर्गमय’ हुँदो रहेछ।

भनिन्छ– उज्यालोले बाटो देखाउँछ, अँध्यारोले बाटाको अर्थ सिकाउँछ।