श्रावण महिनामा प्रकृति आफैं शृंगार गर्न थाल्छ। आकाशमा कालो बादल मडारिन्छ, झरीका थोपा धरतीमा खस्छन्, सुक्खा माटोले पानीको स्पर्श पाउँछ र चारैतिर हरियाली छाउँछ। रूखका पात अझ हरिया देखिन्छन्, खेतका गरा जीवन्त बन्छन्, डाँडाकाँडा हरियो खास्टोले ढाकिन्छन्। लाग्छ, प्रकृतिले लामो प्रतीक्षापछि आफ्नै हातले आफूलाई सजाएको छ। त्यसैले श्रावण केवल एउटा महिना होइन, नयाँ जीवन, आशा, सौन्दर्य र पुनर्जागरणको अनुभूति हो।
श्रावणको अर्थ प्रकृतिको हरियालीमा मात्र सीमित छैन। नेपाली समाजमा श्रावण नारी जीवनसँग पनि गहिरोसँग जोडिएको छ। हरियो चुरा, हरियो पोसाक, मेहन्दी, तीजका गीत, भेटघाट, पूजा, पारिवारिक आत्मीयता र सांस्कृतिक उत्सवले श्रावणलाई महिलाहरूको जीवनमा विशेष बनाउँछन्। प्रकृतिले श्रावणमा आफूलाई हरियो रङले सजाएझैं महिलाहरू पनि आफ्नो जीवनमा रङ, उमंग र उत्साह थप्छन्। यही कारण श्रावणलाई हेर्दा प्रकृति र नारी जीवनबिच एउटा अद्भुत समानता देखिन्छ।
प्रकृतिको जीवन र मानिसको जीवनमा धेरै कुरा मिल्छन्। कहिले घाम हुन्छ, कहिले बादल, कहिले वर्षा हुन्छ, कहिले खडेरी। कहिले फूल फुल्छ, कहिले पात झर्छ। मानिसको जीवन पनि त्यस्तै हो। कहिले खुसी आउँछ, कहिले दु:ख। कहिले सफलता हात पर्छ, कहिले असफलताले बाटो रोक्छ। कहिले आफ्नो संसार हरियालीले भरिएको महसुस हुन्छ, कहिले सबै कुरा सुक्खा र सुनसान लाग्छ। तर श्रावणले एउटा महत्वपूर्ण पाठ सिकाउँछ– सुक्खापछि पनि हरियाली आउन सक्छ, अँध्यारो बादलपछि पनि उज्यालो आकाश खुल्न सक्छ।
प्रकृतिले पनि परिवर्तनलाई स्वीकार गरेर नै आफ्नो सौन्दर्य जोगाउँछ। गर्मीमा सुक्दै गएको धरती वर्षाको पानी पाएपछि फेरि हरियालीमा फर्किन्छ। रुखका पुराना पात झर्छन्, नयाँ पालुवा पलाउँछन्। खेतमा छरिएको एउटा सानो बिउले उचित वातावरण पाएपछि अन्नको रूप लिन्छ। यसले मानिसलाई पनि एउटा गहिरो सन्देश दिन्छ– जीवनमा आएको कुनै पनि कठिनाइ अन्तिम सत्य होइन। समय, धैर्य र निरन्तर प्रयासले सुक्खा परिस्थितिलाई पनि हरियालीमा बदल्न सक्छ।
श्रावण केवल प्रकृतिको शृंगार होइन, यो जीवनलाई फेरि उठ्न, अघि बढ्न र हरियाली बनाउन सकिन्छ भन्ने विश्वासको नाम हो। श्रावणले हामीलाई भन्छ– थाक्न सकिन्छ तर हार मान्नुपर्दैन, रोकिन सकिन्छ तर यात्रा त्याग्नुपर्दैन, झर्न सकिन्छ तर फेरि उठ्न सकिन्छ।
श्रावणको झरी र जीवनको संघर्षसँग जोडेर पनि हेर्न सक्छौं। श्रावणको झरीलाई नजिकबाट हेर्ने हो भने त्यसमा जीवनको गहिरो दर्शन भेटिन्छ। वर्षा सुरु हुँदा आकाश अँध्यारो हुन्छ। बादल गर्जिन्छ, बाटो हिलाम्मे हुन्छ, कतिपय ठाउँमा समस्या पनि उत्पन्न हुन्छ। तर त्यही वर्षा केही समयपछि खेतका लागि वरदान बन्छ। किसानको अनुहारमा आशा देखिन्छ। बिउ उम्रिन्छ, बाली बढ्छ र धरती उत्पादनशील बन्छ।
महिलाको जीवनलाई हेर्ने हो भने यो संघर्ष अझ स्पष्ट देखिन्छ। एउटी महिला छोरी, विद्यार्थी, पेसाकर्मी, उद्यमी, आमा, पत्नी, नेतृत्वकर्ता वा समाजसेवीका रूपमा विभिन्न जिम्मेवारीसँग अगाडि बढिरहेकी हुन्छिन्। जीवनका हरेक चरणमा उनले नयाँ भूमिका सिक्नुपर्छ। कहिलेकाहीं आफ्नो सपना र जिम्मेवारीबिच सन्तुलन मिलाउनुपर्ने अवस्था आउँछ तर यही यात्राले उनको व्यक्तित्वलाई अझ परिपक्व बनाउँछ। जिम्मेवारीको बोझसँगै अवसर र आत्मनिर्भरताको बाटो पनि खुल्दै जान्छ।
आज नेपाली महिलाहरू घरको चौघेराबाट बाहिर निस्केर शिक्षा, प्रशासन, राजनीति, सञ्चार, विज्ञान, प्रविधि, व्यवसाय, उद्यमशीलता, कला, खेलकुद र सामाजिक नेतृत्वका क्षेत्रमा आफ्नो उपस्थिति स्थापित गरिरहेका छन्। उनीहरूको यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन, समाजको सोच परिवर्तनको कथा पनि हो। त्यसैले नारीलाई कमजोर, आश्रित वा केवल पारिवारिक भूमिकामा सीमित गरेर हेर्ने दृष्टिकोण बदलिन आवश्यक छ। श्रावणको हरियालीले हामीलाई यही परिवर्तनको सन्देश पनि दिन सक्छ।
त्यसैले श्रावणको झरी र नारी जीवनबिच एउटा सुन्दर समानता छ। दुवैले कठिन परिस्थितिबाट पनि नयाँ जीवन जन्माउने क्षमता राख्छन्। झरीले सुक्खा धरतीलाई जीवन दिन्छ भने संघर्षले महिलाभित्रको सामर्थ्यलाई उजागर गर्न सक्छ। बादलको अँध्यारो चिरेर घाम निस्किएझैं कठिनाइ पार गरेर अघि बढेकी महिलाको जीवनमा पनि आत्मविश्वास र सफलताको उज्यालो फैलिन सक्छ।
हरियो चुरा : केवल शृंगार होइन, भावनाको रङ
श्रावणमा हरियो चुरा लगाउने परम्परा नेपाली महिलाको सांस्कृतिक जीवनसँग गहिरोसँग जोडिएको छ। चुराको आवाज, हरियो रङ, मेहन्दी र श्रावणका गीतहरूले वातावरणमा उत्सवको अनुभूति ल्याउँछन्। यसलाई केवल बाहिरी शृंगारका रूपमा बुझ्नु पर्याप्त हुँदैन।
श्रावणको हरियो रङ प्रकृतिको रङ मात्र नभई आशा, पुनर्जन्म, सम्भावना र भविष्यप्रतिको विश्वासको रङ पनि हो। महिलाको हातमा बज्ने हरियो चुराले पनि यही जीवन्तताको अनुभूति गराउँछ। त्यसलाई केवल शृंगारमा सीमित नगरी महिला आत्मसम्मान, समानता, अवसर र सशक्तीकरणको प्रतीकका रूपमा बुझ्न सक्यौं भने श्रावणको सांस्कृतिक सौन्दर्य अझ अर्थपूर्ण हुनेछ।
हरियो रङ प्रकृतिको रङ हो। यो जीवन, आशा र नयाँ सुरुवातसँग जोडिन्छ। जब महिला हरियो चुरामा सजिन्छिन्, त्यो दृश्य आफैंमा प्रकृति र मानव जीवनको सुन्दर सम्बन्धको प्रतीक बन्न सक्छ। हरियो चुराको प्रत्येक घेराले जीवनमा आशा, उमंग र निरन्तरताको सन्देश बोकेको अनुभूति हुन्छ। चुरा फुट्दा आउने आवाजले क्षणिक पीडा सम्झाएझैं चुरा बज्दा आउने मधुर ध्वनिले जीवनमा उत्सव पनि आवश्यक छ भन्ने सम्झाउँछ।
आजको समयमा हामीले शृंगारको अर्थलाई अझ फराकिलो बनाउन आवश्यक छ। महिलाको वास्तविक सौन्दर्य केवल चुरा, पोसाक वा मेहन्दीमा होइन। उनको ज्ञान, आत्मविश्वास, क्षमता, निर्णय गर्ने स्वतन्त्रता र आफ्नो पहिचान निर्माण गर्ने साहसमा पनि सौन्दर्य हुन्छ। हरियो चुरा हातमा लगाउनु एउटा सांस्कृतिक परम्परा हो तर ती हातले आफ्नो भविष्य निर्माण गर्न सक्नु अझ ठुलो उपलब्धि हो।
ती हातले घर सम्हाल्न सक्छन्, व्यवसाय सञ्चालन गर्न सक्छन्, प्रविधि सिर्जना गर्न सक्छन्, उद्योग चलाउन सक्छन्, समाजको नेतृत्व गर्न सक्छन् र देशको अर्थतन्त्रमा योगदान दिन सक्छन्। आमाको हातमा बजेको चुरा केवल घरभित्रको खुसीको प्रतीक नबनोस्, त्यही हातले छोरीलाई शिक्षा, आत्मनिर्भरता र आफ्ना सपना पूरा गर्ने साहस पनि दिन सकोस् किनभने एउटा महिलाको आत्मनिर्भरता केवल उनको व्यक्तिगत उपलब्धि होइन, परिवार, समाज र राष्ट्रकै समृद्धिको आधार हो।
श्रावणलाई केवल चुरा, मेहन्दी, वर्षा र हरियालीको महिनाका रूपमा मात्र नहेरौं। यसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ सम्भावनाको प्रतीकका रूपमा पनि बुझौं। प्रकृतिले जस्तै हामीले पनि जीवनका सुक्खा दिनपछि हरियालीको सम्भावना देख्न सिकौं। महिलाको हातमा बज्ने चुराको आवाज केवल परम्पराको ध्वनि नबनोस्, त्यो आत्मनिर्भरता, आत्मसम्मान, समानता र सशक्तीकरणको आवाज बनोस्। अनि श्रावणको हरियो रङ केवल प्रकृतिमा मात्र होइन, प्रत्येक महिलाको सपना, अवसर र भविष्यमा पनि फैलियोस्।
प्रकृतिको पुनर्जन्म र महिलाको पुन:उत्थान
श्रावणअघि धेरै ठाउँमा प्रकृति थाकेजस्तो देखिन्छ। घामले जमिन सुकाएको हुन्छ। बोटबिरुवामा पनि गर्मीको असर देखिन्छ। तर वर्षा सुरु भएपछि त्यही प्रकृति फेरि जीवन्त हुन्छ। हरिया पात पलाउँछन्, नयाँ टुसा उम्रन्छन् र धर्तीमा जीवन फर्किन्छ। मानिसको जीवनमा पनि यस्ता चरण आउँछन्। कहिलेकाहीं असफलता, निराशा, आर्थिक कठिनाइ, सम्बन्धका चुनौती वा सामाजिक अवरोधका कारण मानिस थाक्छ। महिलाको जीवनमा पनि यस्ता कठिनाइहरू आउन सक्छन्। तर एउटा असफलता जीवनको अन्त्य होइन। एउटा ढोका बन्द हुँदा अर्को ढोका खोल्ने क्षमता मानिसभित्र हुन्छ।
हरियो चुरा, हरियो पोसाक, मेहन्दी, तीजका गीत, भेटघाट, पूजा, पारिवारिक आत्मीयता र सांस्कृतिक उत्सवले श्रावणलाई महिलाहरूको जीवनमा विशेष बनाउँछन्। प्रकृतिले श्रावणमा आफूलाई हरियो रङले सजाएझैं महिलाहरू पनि आफ्नो जीवनमा रङ, उमंग र उत्साह थप्छन्। यही कारण श्रावणलाई हेर्दा प्रकृति र नारी जीवनबिच एउटा अद्भुत समानता देखिन्छ।
श्रावणले यही कुरा सम्झाउँछ– जीवन कहिल्यै एउटै अवस्थामा रहँदैन। आज कठिनाइ छ भने भोलि अवसर आउन सक्छ। आज आँसु छ भने भोलि मुस्कान आउन सक्छ। आजको असफलता भोलिको सफलताको आधार बन्न सक्छ। आजको संघर्ष भोलिको प्रेरणादायी कथा बन्न सक्छ। त्यसैले महिलालाई दया होइन, अवसर चाहिन्छ। संरक्षण मात्र होइन, समान अवसर चाहिन्छ। प्रशंसा मात्र होइन, निर्णय गर्ने स्थान चाहिन्छ। सम्मानका शब्द मात्र होइन, आफ्नो क्षमता प्रमाणित गर्ने मैदान चाहिन्छ। महिलाको पुन:उत्थान त्यतिबेला सार्थक हुन्छ, जब समाजले उनको सम्भावनालाई पहिचान गर्दै अगाडि बढ्ने समान बाटो खोलिदिन्छ।
श्रावण र जीवनको सबैभन्दा ठुलो पाठ
श्रावणको झरीले कहिलेकाहीं बाटो अवरुद्ध गर्छ तर त्यसले यात्रा रोक्दैन। मानिस केही समय पर्खन्छ, बाटो खुल्छ र फेरि अगाडि बढ्छ। जीवनमा पनि त्यस्तै हुन्छ। कहिलेकाहीं परिस्थिति हाम्रो पक्षमा हुँदैन। योजनाअनुसार काम हुँदैन। मेहनतको परिणाम ढिला आउँछ। मानिसले आलोचना गर्छ तर त्यसको अर्थ यात्रा समाप्त भएको होइन।
श्रावणको झरीले हामीलाई धैर्य सिकाउँछ। बादल लागेको आकाश देखेर सधैं अँध्यारो रहन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन। त्यसैगरी जीवनमा आएको एउटा कठिनाइलाई हेरेर भविष्य पनि अँध्यारो हुनेछ भन्न मिल्दैन। मानिसले आफ्नो प्रयत्न, विश्वास र निरन्तरताबाट परिस्थितिलाई बदल्न सक्छ। महिलाको जीवनमा पनि यही सत्य लागु हुन्छ। अवसर नपाएको अवस्था स्थायी नियति होइन, अवसर सिर्जना गर्ने र प्राप्त अवसरलाई उपलब्धिमा बदल्ने क्षमता महिलाभित्र पनि उत्तिकै हुन्छ।
यही कारण श्रावण केवल प्रकृतिको शृंगार होइन, यो जीवनलाई फेरि उठ्न, अघि बढ्न र हरियाली बनाउन सकिन्छ भन्ने विश्वासको नाम हो। श्रावणले हामीलाई भन्छ– थाक्न सकिन्छ तर हार मान्नुपर्दैन, रोकिन सकिन्छ तर यात्रा त्याग्नुपर्दैन, झर्न सकिन्छ तर फेरि उठ्न सकिन्छ।
श्रावणको हरियाली र जीवनको सन्देश
श्रावणले धरतीलाई हरियो बनाउँछ, संघर्षले मानिसलाई बलियो बनाउँछ। वर्षाले प्रकृतिलाई जीवन दिन्छ, अवसरले महिलाको सम्भावनालाई जीवन दिन्छ। प्रकृतिको सौन्दर्य हरियालीमा छ, नारीको शक्ति उनको आत्मविश्वासमा छ।
प्रकृतिले वर्षाबाट आफूलाई पुनर्जीवन दिन्छ, मानिसले अनुभव र संघर्षबाट आफूलाई पुनर्निर्माण गर्छ। त्यसैले जीवनमा आएको प्रत्येक कठिनाइलाई अन्तिम सत्यका रूपमा लिनुहुँदैन। कहिलेकाहीं आजको पीडा नै भोलिको शक्ति बन्न सक्छ। आजको असफलता नै भोलिको सफलताको कथा बन्न सक्छ। आजको आँसु नै भोलिको मुस्कानको कारण बन्न सक्छ। श्रावणसँगै हामीले विभिन्न चाडपर्व– नागपञ्चमी, जनैपूर्णिमा, तीज, दसैं, तिहार, छठ, भिन्तुना, ल्होसार आदि विभिन्न चाडपर्वको स्वागत गर्छौं। वर्षाले प्रकृतिलाई जोडेजस्तै चाडपर्वले परिवार, समाज र समुदायलाई जोड्ने काम गर्छन्।
श्रावणको हरियो रङ केवल प्रकृतिको रङ होइन, यो आशा, पुनर्जन्म, सम्भावना र भविष्यप्रतिको विश्वासको रङ पनि हो। महिलाको हातमा बज्ने हरियो चुराले पनि यही जीवन्तताको अनुभूति गराउँछ। त्यसलाई केवल शृंगारमा सीमित नगरी महिला आत्मसम्मान, समानता, अवसर र सशक्तीकरणको प्रतीकका रूपमा बुझ्न सक्यौं भने श्रावणको सांस्कृतिक सौन्दर्य अझ अर्थपूर्ण हुनेछ।

प्रतिक्रिया