तीन वर्ष एकअर्काको धर्मलाई बुझ्दै, परिवारको विश्वास जित्दै र समाजको सम्मान गर्दै अघि बढेको प्रेम अन्ततः विवाहमा परिणत भयो। हिन्दु परिवारकी पदमा श्रेष्ठ (सना) र मुस्लिम समुदायका रिजाउल मुस्तफा मन्जरी (रिजा) ले भागेर होइन, परिवारको सहमति, आशीर्वाद र आफन्त तथा समाजका अगुवाको उपस्थितिमा २०६९ फागुन २१ गते वैवाहिक जीवन सुरु गरे। फरक धर्मका कारण प्रेम सम्बन्ध लुकाउने वा परिवारसँग विद्रोह गर्ने बाटो रोज्नुको सट्टा उनीहरूले संवाद, धैर्य र विश्वासलाई रोजे। आज उनीहरूको दाम्पत्य जीवन सफल अन्तरधार्मिक विवाहको उदाहरण मात्र होइन, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रेरणादायी कथा बनेको छ।

नेपालगन्ज उपमहानगरपालिका–११ इदगाह रोडमा बसोबास गर्ने रिजाउल र पदमाको भेट एक साझा साथीमार्फत भएको थियो। संयोगवश पहिलो भेटमै उनीहरूको कुराकानी धर्मको विषयमा केन्द्रित भयो। सुरुमा आफूहरू एकअर्काको धर्मप्रति सहज नभएको उनीहरू स्वीकार गर्छन्। फरक संस्कार, फरक परम्परा र समाजले बनाएका पूर्वधारणाका कारण उनीहरूलाई एकअर्कालाई बुझ्न समय लाग्यो। सिकाइ र बुझाइको यात्रामा तीन वर्ष बित्यो। उनीहरूले एकअर्काका धर्मबारे पढे, छलफल गरे र त्यसको मूल मर्म बुझ्ने प्रयास गरे। रिजाउलका अनुसार यही अवधिमा उनीहरूले महसुस गरे कि धर्मका नाम, भाषा र ग्रन्थ फरक भए पनि तिनले दिने सन्देश एउटै छ। कुरान र गीताका शिक्षामा मानवता, सत्य, प्रेम र सदाचारको भावमा समानता भेटिएपछि उनीहरूले आफ्नो सम्बन्धलाई प्रेमका रूपमा स्विकारे।

प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गर्दा उनीहरूलाई सबैभन्दा ठुलो चिन्ता परिवारको प्रतिक्रिया कस्तो आउला भन्ने थियो।

फरक धर्म भएकाले परिवारलाई आफ्नो निर्णय स्वीकार गराउन कठिन हुन सक्ने दुवैको अनुमान थियो। जेजस्तो परिस्थिति आइपरे पनि उनीहरूले भागेर विवाह गर्ने विकल्प रोजेनन्। अर्थात् परिवारको सम्मान गर्दै आफ्ना भावना खुलेर सुनाउने निर्णय गरे। दुवैले आआफ्ना परिवारसँग आफूहरूबिचको प्रेम सम्बन्धबारे स्पष्ट रूपमा कुरा राखे। उनीहरूको परिपक्व सोच र इमानदार अभिव्यक्तिलाई दुवै परिवारले सम्मान गरे। त्यसपछि आफन्त, साथीभाइ र समाजका अग्रजहरूको उपस्थितिमा दुवै परिवारको आशीर्वादसहित उनीहरू वैवाहिक बन्धनमा बाँधिए।

विवाहपछि पनि उनीहरूले कुनै धर्म परिवर्तन गरेनन्। बरु एकअर्काको आस्था र संस्कृतिलाई सम्मान गर्ने अभ्यासलाई दाम्पत्य जीवनको आधार बनाए। दुवै परिवारले पनि उनीहरूलाई सहज रूपमा स्वीकार गरे। समुदायले समेत परिवारको सहमतिमा विवाह गरेको निर्णयको प्रशंसा गर्‍यो। आज रिजाउल आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् भने पदमा पनि व्यवसायसँगै घरपरिवारलाई सन्तुलित रूपमा अघि बढाइरहेकी छन्। उनीहरूका दुई सन्तान एक छोरा र एक छोरी दुवै धर्मको सम्मान गर्ने वातावरणमा हुर्किरहेका छन्। पदमा हिन्दु संस्कारअनुसारका चाडपर्व मनाउन पत्नी र बालबच्चासहित माइत पुग्छिन्। त्यस्तै इदलगायत मुस्लिम समुदायका पर्व पनि उत्तिकै उत्साहका साथ मनाउँछिन्। उनका लागि दुवै धर्म समान सम्मानका विषय हुन्। रिजाउल पनि पत्नीको धार्मिक आस्थाप्रति उत्तिकै सम्मान व्यक्त गर्छन्।

धर्मकै कारण कहिल्यै समस्या नभोगेको बताउने उनीहरू सम्बन्धलाई मानवताका आधारमा हेर्नुपर्ने धारणा राख्छन्। रिजाउल भन्छन्, ‘सबै धर्मबिचको वास्तविक फरक भाषा र ग्रन्थमा मात्र हो। त्यसको मर्म बुझ्ने हो भने सबैले मानवता, प्रेम र असल आचरणकै शिक्षा दिन्छन्। त्यसैले कसैले पनि अर्काको धर्ममाथि टिप्पणी गर्नुहुँदैन।’

धर्मका नाममा विभाजनका बहस भइरहेका बेला रिजाउल र पदमाको जीवनले फरक सन्देश दिन्छ। उनीहरूको प्रेमले प्रमाणित गरेको छ– सम्बन्ध सफल बनाउन धर्म एउटै हुनु पर्दैन, मन, सम्मान र विश्वास एउटै हुनुपर्छ। यही कारण उनीहरूको दाम्पत्य आज हिन्दु–मुस्लिम सद्भावको सुन्दर र प्रेरणादायी उदाहरण बनेको छ। पदमा भन्छिन्, ‘सबै धर्मको मूल उद्देश्य नै शान्ति, एकता, प्रेम र सद्भाव कायम गर्नु हो।’

धर्मले मानिसलाई असल बन्न, एकअर्कालाई सम्मान गर्न र मानवताको बाटामा हिँड्न सिकाउने उनले बताइन्। ‘त्यसैले धर्मका नाममा विभाजन होइन, सम्बन्ध जोडिनुपर्छ,’ उनले भनिन्, ‘हामीले विवाह गरेपछि कहिल्यै कसको धर्म ठुलो वा सानो भन्ने बहस गरेनौं। बरु एकअर्काको आस्था, संस्कार र परम्परालाई सम्मान गर्न सिक्यौं। म हिन्दु धर्मका चाडपर्व पनि उत्तिकै श्रद्धाका साथ मनाउँछु, मुस्लिम समुदायका पर्व पनि परिवारसँग खुसीका साथ मनाउँछु,’ उनी भन्छिन्, ‘हाम्रो घरमा धर्म कहिल्यै विवादको विषय बनेन, यो त एकअर्कालाई अझ राम्रोसँग बुझ्ने माध्यम बन्यो। हरेक परिवार र समाजले एकअर्काको धर्मलाई सम्मान गर्ने बानी बसाल्ने हो भने धर्मका नाममा हुने धेरै विवाद आफैं अन्त्य हुन्छन्। हामी सबैभन्दा पहिले मानिस हौं, त्यसपछि मात्रै हाम्रो धर्म आउँछ। त्यसैले एकअर्काको विश्वासलाई स्वीकार गरेर अघि बढ्न सके समाज अझ शान्त, सहिष्णु र सद्भावपूर्ण बन्न सक्छ।’