भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा रहेको कमेरोटार जग्गा एकीकरण आयोजना सुरु भएको २४ वर्ष नाघिसकेको छ । तर आयोजनाको काम अझै सम्पन्न हुन सकेको छैन । मध्यपुर थिमि नगरपालिकाको वोर्डबाट २०५९ जेठ ३० गते जग्गा एकीकरण आयोजना सञ्चालन गर्न माग गर्ने निर्णयसहित एकीकरणको काम सुरु भएको थियो ।
‘आयोजना अन्तर्गत ४८ वटा मुद्धाहरु भए, आयोजना सञ्चालन गर्दाका बेला आयोजना सञ्चालक मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं हालका संघीय सांसद् मदनकृष्ण श्रेष्ठले आयोजनाको प्रगति बिवरण जानकारी दिन सोमबार आयोजनाको कार्यालय मध्यपुर थिमिमा गरेको पत्रकार सम्मेलनमा भने, मुद्धा मात्रै होइन, अनेक कारणले आयोजनाको काम ढिला भएको हो ।’
उनका अनुसार ४८ मध्ये हालसम्म मुद्धाको फैसला भएको छ । बाँकी तीनवटामध्ये दुई वटा सर्वोच्च अदातालमा विचाराधिन र एउटा भक्तपुर जिल्ला अदालतमा मुतल्वीमा रहेको छ ।
निमित आयोजना प्रमुख दिगम्वर गोजा श्रेष्ठले आयोजनाको काम अझै बाँकी नै रहेको जानकारी गराए । मध्यपुर थिमि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन कार्यालय भक्तपुरद्वारा सञ्चालित आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको जानकारी उनले गराए । आयोजनाको भौतिक काम सकाउन अझै केही वर्ष लाग्ने जानकारी उनले गराए ।
कार्यबाहक आयोजना उपभोक्ता समितिका अध्यक्ष ओम श्रेष्ठले आयोजना ढिलाईका अनेक कारणहरुको बेलिविस्तार लगाए । उनले काठमाडौं उपत्यकामा नगरपालिकाहरुबाट सञ्चालनमा रहेका २५ वटा यस्तै आयोजनाहरु पनि नसकेको भन्दै अनेक कारणले ढिलाई हुने गरेको स्मरण गरे ।
पर्याप्त सडक, ढल तथा वर्षा पानी निकासको व्यवस्था नहुँदा भविष्यमा अव्यवस्थित बस्ती विस्तार हुने जोखिम देखिएपछि नेपाल सरकार र मध्यपुर थिमि नगरपालिकाले कमेरोटार क्षेत्रमा जग्गा एकीकरण आयोजना लागू गर्ने निर्णय गरेको थियो । पूर्वमा राजकुलो, पश्चिममा अरनिको राजमार्ग हुँदै पुरानो बाहखा बजार, उतरमा काठमाडौं भक्तपुर पुरानो पिच सडक र दक्षिणमा अरनिको राजमार्गको सिमानाको दुई हजार ८३ रोपनी क्षेत्रफलमा आयोजनाको काम सुरु भएको थियो । आयोजनाको काम सुरु भएपछि व्यवस्थित शहरीकरण र आवासीय विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको थियो । तर, योजना सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि आयोजना अझै पूर्णता नपुग्दा स्थानीयवासी निराश छन् ।
आयोजना छिटो सम्पन्न गरी व्यवस्थित सडक, ढल, हरियाली तथा सार्वजनिक सेवा उपलब्ध गराउन उनीहरूले सम्बन्धित निकायसँग स्थानीयले माग गर्दै आएका छन् । यही मागका साथ स्थानीयले एक महिना अगाडि एक हप्तासम्म निरतर आन्दोलनसमेत गरेका थिए ।
शहरी विकास विज्ञहरूका अनुसार जग्गा एकीकरण आयोजना सफलतापूर्वक सम्पन्न भए व्यवस्थित बस्ती विकास, सार्वजनिक पूर्वाधार विस्तार, जग्गाको मूल्य वृद्धि तथा दीर्घकालीन शहरी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्नेछ । तर, कमेरोटार आयोजना २४ वर्षसम्म पनि पूरा हुन नसक्दा योजनाको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया