निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतीक्षित फिल्म ‘द ओडिसी’ को सामाजिक सञ्जाल एक्समा लीक भएपछि केही घण्टामै लाखौँले हेरेका छन्।
हलिउड उद्योगसम्बन्धी पत्रिका भेराइटीका अनुसार शनिबार पोस्ट गरिएको लीक भिडियो हटाइनुअघि करिब साढे दुई घण्टामा २.१ मिलियन (२१ लाख) पटक हेरिएको थियो। खाता पछि निलम्बन गरिएको बताइएको छ।
लीक भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आए। केही प्रयोगकर्ताले ‘नोलनले चाहेजस्तै पूरै फिल्म एक्समै हेर्न पाइयो’ भन्दै व्यंग्य गरे। अर्काले ‘सुरुमा नक्कली होला भन्ने लागेको थियो, तर साँच्चै लीक रहेछ’ भनेर प्रतिक्रिया जनाए।
नोलनले तीन घण्टा लामो ‘द ओडिसी’ सम्पूर्ण रूपमा ७० एमएम फिल्म मा छायांकन गरेका छन्। यो प्रविधि विशेषगरी विशाल आईम्याक्स पर्दामा उत्कृष्ट दृश्य अनुभव दिनका लागि प्रयोग गरिएको हो। त्यसैले नोलनले दर्शकलाई सम्भव भएसम्म ठूलो पर्दामै फिल्म हेर्न आग्रह गर्दै आएका छन्।
यस्तै, हलिउड रिपोर्टरका अनुसार आइतबार अर्को कम गुणस्तरको संस्करण पनि एक्समा देखिएको थियो। उक्त भिडियोले करिब ५० हजार भ्यु बटुलेपछि दुई घण्टाभित्रै हटाइएको थियो।
घटनापछि फिल्म स्टुडियो युनिभर्सल पिक्चर्स ले अनधिकृत रूपमा पोस्ट गरिएको सामग्रीबारे जानकारी पाएलगत्तै हटाउने प्रक्रिया सुरु गरिएको जनाएको छ।
स्टुडियोले प्रतिलिपि अधिकार उल्लङ्घनलाई गम्भीर रूपमा लिने र आफ्नो बौद्धिक सम्पत्तिको संरक्षणका लागि आवश्यक सबै कानुनी कदम चाल्ने स्पष्ट पारेको छ।
लीक भए पनि यसको बक्स अफिस कमाइमा ठूलो असर पर्ने सम्भावना कम देखिएको छ। फिल्मले प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म विश्वभर २१५ मिलियन अमेरिकी डलर कमाउँदै कुल कमाइ ६४० मिलियन अमेरिकी डलर पुर्याएको छ।

प्रतिक्रिया