अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हजार वर्षसम्म पुग्ने ग्यासोलिन भण्डार रहेको दाबी गरेका छन्।

मिशिगनमा आयोजित एक चुनावी कार्यक्रममा उनले चीनलाई लक्षित गर्दै आफ्नो ऊर्जा र आर्थिक नीतिको बचाउ गरेका हुन्। राज्यको प्राइमरी चुनाव र आगामी मध्यावधि चुनाव नजिकिँदै गर्दा ‘अमेरिका फर्स्ट’ नीतिको जोडदार प्रचार गरिएको यो भाषणको मुख्य केन्द्रविन्दु चीन र अमेरिकी ऊर्जा बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले चीनसँग कुनै पनि दीर्घकालीन ऊर्जा भण्डार नरहेको तर अमेरिकासँग हजार वर्षसम्म पुग्ने ग्यासोलिन भण्डार सुरक्षित रहेको दाबी गरेका हुन्। ‘हामीसँग हजार वर्षसम्म पुग्ने ग्यासोलिन भण्डार छ। चीनसँग छैन,’ उनले भने। ट्रम्पले अमेरिकासँग विशाल प्राकृतिक स्रोत रहेको भन्दै थप थपे, ‘हामीसँग बढी तेल छ। भेनेजुएला थप्दा त हामीसँग झन् धेरै तेल हुन्छ।’ यसमार्फत उनले अमेरिका र चीनबिचको आर्थिक तथा रणनीतिक प्रतिस्पर्धामा अमेरिका धेरै माथि रहेको स्पष्ट सन्देश दिन खोजेको पाइयो। यद्यपि, ऊर्जा विश्लेषकहरूका अनुसार ट्रम्पको ‘हजार वर्षको भण्डार’ सम्बन्धी दाबीलाई आधिकारिक वैज्ञानिक अनुमान भन्दा पनि राजनीतिक रणनीतिका रूपमा हेरिएको छ।

यो भाषण आगामी मध्यावधि चुनावलाई लक्षित गर्दै दिइएको हो। हाल इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर आपूर्तिमा चुनौती देखिएको छ। इरान युद्धले होर्मुज जलमार्गबाट हुने तेल निर्यातमा अवरोध पुग्दा अमेरिकामा पनि पेट्रोलको मूल्य प्रभावित भएको छ। बाँकी विश्वजस्तै अमेरिकी अर्थतन्त्र पनि दबाबमा परेको छ। यसै सन्दर्भमा ट्रम्पले अमेरिकी ऊर्जा स्वतन्त्रता र दीर्घकालीन भण्डारलाई मुख्य राजनीतिक हतियार बनाएका हुन्।

चीनसँगको रणनीतिक प्रतिस्पर्धाको कुरा गर्दै ट्रम्पले विगतका नेताहरूले अमेरिकी रोजगारी विदेश पठाएको तर आफ्नो प्रशासनले अमेरिकी कामदारहरूलाई सधैँ पहिलो प्राथमिकता दिएको बताए। उनले भने, ‘मिशिगनका अटो कामदारहरूका लागि अन्ततः एउटा राष्ट्रपति आएको छ, जसले मिशिगन र अमेरिकालाई पहिलो प्राथमिकता दिन्छ।’

उनले थप भने, ‘मैले तपाईंहरूका लागि तपाईंका आमाबाबुले भन्दा बढी गरेको छु।’ सो अवसरमा उनले अमेरिकामा अटो कारखाना र प्लान्टहरू इतिहासकै उच्च गतिमा निर्माण भइरहेको समेत दाबी गरेका थिए।

भाषणकै क्रममा राष्ट्रपति ट्रम्प डेमोक्रेटिक पार्टीभित्रका प्रगतिशील नेताहरूमाथि समेत आक्रामक देखिए। चुनावी र्‍यालीमा भएका केही प्रदर्शनकारीहरूलाई लक्षित गर्दै उनीहरूलाई ‘कम्युनिस्ट’ को संज्ञा दिएर चेतावनी दिँदै भने, ‘मैले कहिल्यै यो समाजवादी देश बन्दैन भनेको थिएँ, तर अब उनीहरू यसलाई कम्युनिस्ट बनाउन चाहन्छन्। यो देशको लागि इतिहासकै ठूलो खतरा हो।’ उनले यस्ता नीतिहरूले देशलाई कंगाल बनाउने, जनतालाई गरिबी र डरमा बाँच्न बाध्य पार्ने तथा देशमा प्रहरी र दमकलसमेत नहुने अवस्था आउने गम्भीर आरोप लगाए।