मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्।

उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बरफरहित भूभागमा सार्न प्रस्ताव गरेका छन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) खुम्बु हिमनदीमा गरिएको एक वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले उक्त प्रस्ताव गरेका हुन्।

नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न उक्त अध्ययनले आधार शिविरमा हुने आरोहणसम्बन्धी गतिविधिले हिमनदीमा पार्ने प्रत्यक्ष स्थानीय प्रभावलाई परिमाणात्मक रूपमा मापन गरेको छ।

अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल ‘रिजनल इन्भाइरोन्मेन्टल चेन्ज’ मा प्रकाशित सो अध्ययनअनुसार सन् २०२३ को वसन्तकालीन आरोहण सिजनमा आधार शिविरमा खाना पकाउने, ताप लिने, बिजुली उत्पादन गर्ने तथा हिमनदीमै विसर्जन गरिएको मानव मूत्रबाट निस्किएको तापजन्य ऊर्जाले करिब २ हजार ४९२ (+५२८) टन हिउँ तथा बरफ पगाल्न सक्ने देखिएको छ।

यो परिमाण खुम्बु हिमनदीको समग्र हिउँको क्षतिको तुलनामा निकै सानो भए पनि यी गतिविधि आधार शिविर क्षेत्रमा केन्द्रित भएकाले स्थानीय रूपमा हिमनदी अस्थिर बन्ने जोखिम बढाउन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ।

हिमालयका हिमनदीहरू जलवायु परिवर्तनका कारण तीव्र रूपमा खुम्चिँदै गएको र सगरमाथामा आरोहीको चाप निरन्तर बढिरहेको अवस्थामा यस अध्ययनले सगरमाथाको भविष्यबारे भइरहेका चिन्तामा नयाँ आयाम थपेको छ।

‘हाम्रो अध्ययनले स्थानीय मानव गतिविधि र जलवायु परिवर्तनले संयुक्त रूपमा खुम्बु हिमनदीमा पारिरहेको प्रभावको विश्लेषण गर्नुका साथै सगरमाथा आधार शिविरलाई कसरी दिगो बनाउने भन्ने सम्भावनाको पनि खोजी गरेको छ’, अध्ययनका प्रमुख लेखक तथा नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमले नागरिकसँग भने।

नापी विभागका गौतमको नेतृत्वमा गरिएको अध्ययनमा अमेरिकी भूगर्भ सर्वेक्षण (यूएस जियोलोजिकल सर्भे), त्रिभुवन विश्वविद्यालय अन्तर्गतका वातावरण विज्ञान विभाग र नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टेनेयरिङका वैज्ञानिक संलग्न थिए।

पहिलो परिमाणात्मक अध्ययन

जलवायु परिवर्तनका कारण खुम्बु हिमनदीमा ह्रास आइरहेको विषयमा यसअघि पनि धेरै अध्ययन भएका छन्। तर सगरमाथा आरोहणसँग सम्बन्धित मानव गतिविधिले हिमनदीमा पार्ने प्रत्यक्ष प्रभावको परिमाणात्मक मूल्याङ्कन भने विरलै गरिएको थियो।

अनुसन्धानकर्ताहरूले सन् २०२३ को वसन्तकालीन आरोहण सिजनमा आधार शिविरमा स्थलगत अध्ययन गरी इन्धनको प्रयोग, शिविर सञ्चालन र फोहोर व्यवस्थापनसम्बन्धी विवरण सङ्कलन गरेका थिए।

साथै, सन् १९९१ देखि २०२३ सम्मका तीन दशकभन्दा बढी अवधिका ल्याण्डस्याट उपग्रह तस्बिरहरूको विश्लेषण गरेर आधार शिविर वरपरको सतही तापक्रमको दीर्घकालीन प्रवृत्ति अध्ययन गरिएको थियो।

अध्ययनले खाना पकाउन, पाल तताउन तथा विद्युत् उत्पादन गर्न प्रयोग हुने जीवाश्म इन्धन नै आधार शिविरबाट उत्सर्जित ताप ऊर्जाको सबैभन्दा ठुलो स्रोत रहेको देखाएको छ।

अनुसन्धानकर्ताका अनुसार सन् २०२३ को आरोहण सिजनमा विभिन्न अभियान सञ्चालकहरूले ८२४ वटा एलपी ग्यास सिलिन्डर, १८ हजार ९३५ लिटर मट्टितेल र ५ हजार १३० लिटर पेट्रोल प्रयोग गरेका थिए।

इन्धन दहनको प्रभावकारिता गणना गर्दा त्यसबाट निस्किएको तापले सैद्धान्तिक रूपमा करिब २ हजार ३३८ टन बरफ पगाल्न सक्ने देखिएको छ। हिमनदीमै विसर्जन गरिएको मानव मूत्रबाट थप १५४ टन बरफ पग्लिन सक्ने अनुमान गरिएको छ। यसरी कुल सम्भावित बरफ पग्लिने परिमाण करिब २ हजार ५०० टन पुगेको अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार करिब ५० दिन लामो आरोहण सिजनमा आधार शिविरमा भएका मानव गतिविधिबाट करिब ८ लाख ४९ हजार १७४ मेगाजुल ताप ऊर्जा उत्सर्जन भएको थियो।

आधार शिविरमा दोब्बर गतिमा तापक्रम वृद्धि

अध्ययनले मानव गतिविधिबाट निस्कने तापले आधार शिविर क्षेत्रमा विगत तीन दशकमा तापक्रम उल्लेख्य रूपमा बढेको पनि देखाएको छ।

सन् १९९१ देखि २०२३ सम्मका ल्याण्डस्याट उपग्रह तथ्याङ्कको विश्लेषण गर्दा आधार शिविर क्षेत्रको सतही तापक्रम वार्षिक ०.२८ डिग्री सेल्सियस का दरले बढेको पाइएको छ। यसको छेउको हिउँले ढाकिएको खुम्बु हिमनदी क्षेत्रमा भने वार्षिक वृद्धि ०.१५ डिग्री सेल्सियस मात्र रहेको छ।

आधार शिविर क्षेत्रमा देखिएको तापक्रम वृद्धिदर आसपासका ढुंगा माटोले ढाकिएका भूभागको तुलनामा पनि बढी रहेको अध्ययनले देखाएको छ।

यद्यपि अनुसन्धानकर्ताहरूले उपग्रहबाट प्राप्त तथ्याङ्कका आधारमा मात्र यो अतिरिक्त तापक्रम वृद्धि पूर्ण रूपमा मानव गतिविधिकै कारण भएको ठहर गर्न नसकिने बताएका छन्।

यसको थप पुष्टि गर्न उच्च रिजोलुसनका तापीय अवलोकन तथा स्थलगत मापन आवश्यक पर्ने उनीहरूको भनाइ छ।

मुख्य कारण जलवायु परिवर्तन

अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनलाई आरोहीहरू नै खुम्बु हिमनदी पग्लिनुको मुख्य कारण हुन् भन्ने रूपमा व्याख्या गर्न नहुनेमा जोड दिएका छन्।

अध्ययनका अनुसार मानव गतिविधिबाट हुने सम्भावित हिउँ पग्लिने परिमाण समग्र हिमनदीको समग्र हिउँ क्षतिको अत्यन्तै सानो हिस्सा मात्र रहेका पनि जलवायु परिवर्तन नै हिमनदी पग्लिनुको प्रमुख कारण रहेको द देखिएको छ।

जलवायु परिवर्तनको चपेटामा यसअघिकै परेका हिमनदीमा आरोहण गतिविधिबाट उत्पन्न हुने तापले स्थानीय स्तरमा थप दबाब सिर्जना गर्न सक्ने निष्कर्ष अध्ययनको छ।

अनुसन्धानकर्ताहरूले हेलिकोप्टर सञ्चालन, भारी सामान बोक्ने जनावर तथा मानव शरीरबाट निस्कने तापजस्ता केही सम्भावित स्रोतलाई पर्याप्त तथ्याङ्कको अभावमा अध्ययनमा समावेश गर्न नसकिएको पनि उल्लेख गरेका छन्।

साथै आधार शिविरमा उत्पन्न हुने सम्पूर्ण ताप हिमनदीमा सिधै स्थानान्तरण नहुने भएकाले प्रस्तुत अनुमानलाई प्रारम्भिक वैज्ञानिक आकलनका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ।

हिउँमाथिको अस्थायी सहर

अनुसन्धानकर्ताहरूले सगरमाथा आधार शिविरलाई अहिले हिउँमाथि बनेको अस्थायी मौसमी सहरको रूपमा वर्णन गरेका छन्।

सन् २०२३ को वसन्तकालीन आरोहण सिजनमा करिब २ हजार १२७ आरोही, पथप्रदर्शक र सहयोगी कर्मचारीहरू खुम्बु हिमनदीको २६.५ हेक्टर क्षेत्रमा फैलिएका करिब १ हजार ६ सय पालमा झण्डै ५० दिन बसेका थिए। उनीहरू सगरमाथासँगै ल्होत्से, नुप्त्से र पुमोरी हिमाल आरोहणको तयारीमा थिए।

त्यसो त, पछिल्ला दशकहरूमा आरोहण अभियानको संख्या बढ्दै जाँदा इन्धनको प्रयोग, फोहोर उत्पादन तथा हिमनदीमाथि निर्माण गरिने अस्थायी संरचनाहरू पनि उल्लेख्य रूपमा बढेका छन्।

आधार शिविर स्थानान्तरणको प्रस्ताव

अध्ययनको सबैभन्दा महत्त्वपूर्ण सिफारिसमध्ये एउटा सगरमाथा आधार शिविरलाई स्थानान्तरण गरेर नजिकैको स्थिर तथा बरफरहित भूभागमा सार्ने प्रस्ताव हो।

अनुसन्धानकर्ताहरूले हालको आधार शिविरको दक्षिण–पश्चिमतर्फ रहेका दुई सम्भावित स्थान पहिचान गरेका छन्, जहाँ शिविर सार्दा अझ सुरक्षित र दिगो विकल्प हुन सक्ने उनीहरूको निष्कर्ष छ।

यी दुवै स्थान गतिशील हिमनदीमाथि नभई स्थिर जमिनमा रहेका कारण हिमनदी अस्थिरताको जोखिम पनि कम हुने अध्ययनले जनाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार आधार शिविर स्थानान्तरण गर्न सके खुम्बु हिमनदीमाथिको मानव दबाब घट्ने, हरेक वर्ष शिविर पुनः निर्माण गर्नुपर्ने अवस्था अन्त्य हुने, आरोहीको सुरक्षा बढ्ने, हेलिकोप्टर सञ्चालन सहज हुने तथा दीर्घकालीन वातावरणीय प्रभाव कम गर्न सकिनेछ।

अध्ययनले सगरमाथा आधार शिविर सधैँ हालको स्थानमै नभएको पनि स्मरण गराएको छ। सन् १९५० को दशकका प्रारम्भिक सगरमाथा अभियानहरूले गोरकशेप नजिक दक्षिण–पश्चिम क्षेत्रमा आधार शिविर स्थापना गरेका थिए।

त्यसैले अहिलेको आधार शिविर स्थानान्तरण गर्नु कुनै अभूतपूर्व निर्णय नहुने अध्ययनले उल्लेख गरेको छ।

यद्यपि आधार शिविर सार्ने निर्णयअघि अभियान सञ्चालक, स्थानीय समुदाय तथा संरक्षण निकायसँग व्यापक परामर्श र सावधानीपूर्वक योजना बनाउनुपर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

हिमालयमा जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको र सगरमाथामा मानव गतिविधि पनि निरन्तर बढिरहेकाले यस्ता अनुकूलनका उपाय अब अपरिहार्य बन्दै गएको उनीहरूको निष्कर्ष छ।

उनीहरूका अनुसार आधार शिविर स्थानान्तरण गर्न सके स्थानीय स्तरमा मानव गतिविधिबाट हुने हिमनदी पग्लिने प्रक्रियालाई कम गर्न मद्दत पुग्नुका साथै विश्वकै सबैभन्दा प्रतिष्ठित हिमाली आरोहण क्षेत्रलाई दीर्घकालीन रूपमा संरक्षण गर्न सकिनेछ।

नेपालको अर्थतन्त्र उच्च हिमाली पर्यटनमा उल्लेख्य रूपमा निर्भर रहेको उल्लेख गर्दै गौतमले हिमालयका हिमनदीबाट बग्ने पानी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसको जीवन र जीविकोपार्जनको आधार रहेको बताए।

‘जलवायु परिवर्तन र बढ्दो मानव गतिविधिले यी संवेदनशील हिमाली पारिस्थितिक प्रणालीमाथि दबाब बढाइरहेको अवस्थामा यस अध्ययनले वातावरण संरक्षण र दिगो पर्वतीय पर्यटनबिच सन्तुलन कायम गर्न वैज्ञानिक आधार प्रदान गर्न सक्नेछ,’ गौतमले नागरिकलाई भने।