जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा भिडियो पोस्ट र सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सुनसरी जिल्लामा भएको घटनासँग सम्बन्धित भन्दै रौतहटका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि रहेको सवारी साधनको फोटो तथा भिडियो सामाजिक सञ्जालमा गलत ढंगले प्रचार गरिएको भन्दै प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बुधबार साँझ जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनताकाको रौतहटको फोटो तथा भिडियोलाई सुनसरी घटनासँग जोडेर सामाजिक सञ्जालमा प्रसारण गर्दा समाजमा भ्रम सिर्जना गर्नुका साथै जिल्लाको शान्ति सुरक्षा र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने उल्लेख गरेको छ।
प्रहरीले कुनै पनि घटना वा सामग्री तथ्य र प्रमाणको आधारमा मात्रै सार्वजनिक गर्न आग्रह गर्दै पुष्टि नभएका फोटो, भिडियो वा सूचना पोस्ट तथा सेयर नगर्न सबैलाई अनुरोध गरेको छ। यस्ता गतिविधिले साइबर अपराध ऐन, २०६३ तथा मुलुकी अपराध संहिता, २०७४ विपरीत कानुनी दायित्व सिर्जना गर्न सक्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र संयमित बन्न आग्रह गर्दै अफवाह फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न पाइए कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया