अमेरिका र इरानबिचको तनावले नयाँ रूप लिएको छ। साउदी अरेबियाले इरान समर्थित समूहहरूविरुद्धको सैन्य कारबाहीमा खुला रूपमा भाग लिन थालेपछि मध्यपूर्वको संकट झनै गहिरिएको हो।
लामो समयदेखि दुश्मन रहेका यी देशबिच अविश्वास बढ्दा यसअघि भएका कूटनीतिक प्रयासहरू पूर्ण रूपमा रोकिएका छन्।
केही दिनको शान्तिपछि पछिल्लो २४ घण्टामा दुवै पक्षले सैन्य हमला तीव्र पारेका छन्। यसले गर्दा फेरि पूर्ण युद्धको खतरा बढेको छ। जोर्डनमा रहेको अमेरिकी सैन्य केन्द्र ‘मुवाफक साल्टी एयर बेस’ मा इरानले ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तर, तीमध्ये धेरैजसो मिसाइल जोर्डनी सेनाले बाटोमै खसालेको दाबी गरेको छ।
यस आक्रमणको जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘धेरै कडा’ प्रहार गर्ने चेतावनी दिएका थिए। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, ‘उनीहरूले पहिले नै माफी मागिसकेका छन्, तर हामीले उनीहरूलाई थोरै प्रहार गर्नुपर्छ।’
लगत्तै अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जालमार्फत इरानी आक्रमणको जवाफमा बिहीबार नयाँ सैन्य कारबाही सुरु गरिएको घोषणा गरेको छ।
अमेरिका र साउदी अरेबियाको यो आक्रामक कदमलगत्तै इरानका विभिन्न भागमा भीषण आक्रमण भएका छन्। अमेरिका र साउदी अरेबियाले इराकमा संयुक्त रूपमा हवाई आक्रमण गरे पनि इरानभित्र भइरहेको प्रत्यक्ष प्रहारमा भने अमेरिकी सेना मात्र संलग्न रहेको बताइएको छ।
इरानको अर्धसरकारी समाचार संस्था ‘तस्निम’ का अनुसार अमेरिकी सेनाले इरानको फार्स प्रान्त र किस टापुमा पनि आक्रमण गरेको छ। फार्स प्रान्तको काजेरुन सहर बाहिरको क्षेत्रलाई निशाना बनाइएको छ। मिसाइल आक्रमणपछि किस टापुमा ठूला विस्फोटका आवाज सुनिए पनि त्यहाँको विमानस्थल र यात्रु ओसारपसार गर्ने ठूला डुंगा (फेरी) सेवा रोकिएका छैनन्। स्थानीय बासिन्दाहरूले मिसाइलले आवासीय क्षेत्रलाई निशाना बनाएको बताएका छन्। तर मानवीय क्षतिको विवरण भने अहिलेसम्म आइसकेको छैन।
यसैबिच, इरानको सरकारी प्रसारण संस्था ‘आईआरआईबी’ ले देशको एकमात्र आणविक ऊर्जा केन्द्र रहेको बुशहर प्रान्तमा पनि विस्फोटका आवाजहरू सुनिएको जनाएको छ। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामाथि आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध तीव्र सैन्य कारबाही चलाएसँगै दुई देशबिचको तनाव चरम बिन्दुमा पुगेको हो।
इराकको दियाला प्रान्तमा साउदी र अमेरिकाले गरेको संयुक्त हवाई आक्रमणमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) का चार सदस्यसहित कैयौँ लडाकुहरू मारिएका छन्। मरकजी प्रान्तका उप-गभर्नर हसन घामारीका अनुसार उनीहरू अरबाइन तीर्थयात्रा समारोहको सुरक्षामा खटिएका थिए।
इराकको पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले यो संयुक्त आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। उनीहरूका अनुसार आक्रमणमा २० जना लडाकु मारिएका छन् भने ३२ जनाभन्दा बढी घाइते भएका छन्। मृतकमा इरानी सल्लाहकार समेत रहेका छन्। इराकी अधिकारीहरूले यस्ता आक्रमणले देशलाई झनै ठूलो द्वन्द्वमा धकेल्ने चेतावनी दिएका छन्।
होर्मुज जलमार्ग नजिकै भइरहेका यस्ता लगातारका आक्रमणले मध्यपूर्वमा ठूलो मानवीय र ऊर्जा संकट निम्त्याउने खतरा बढेको छ। सैन्य द्वन्द्व चर्किएसँगै विश्व बजारमा इन्धन सुरक्षालाई लेकर चिन्ता सुरु भएको छ। होर्मुज क्षेत्रमा भएको अवरोध र तेल ट्यांकरमाथिको हमलाले ढुवानी मार्गहरू प्रभावित भएका छन्।
इरानले यस जलमार्गबाट चल्ने जहाजहरूमाथि कडा निगरानी राख्दै आएको छ। यसैबिच, समुद्री सुरक्षा फर्महरूका अनुसार इजिप्टको बन्दरगाह नजिकै अमेरिकी स्वामित्वमा रहेको एउटा ग्यास ट्यांकरमा ड्रोन प्रहार हुँदा आगो लागेको छ।
यसैबिच, चीनले इरानलाई तीन सयदेखि चार सय सम्म काँधमा राखेर हान्ने वायु-रक्षा मिसाइल लन्चरहरू दिन सक्ने ‘रोयटर्स’ को रिपोर्टप्रति राष्ट्रपति ट्रम्पले गहिरो असन्तुष्टि जनाएका छन्। ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले आफूलाई यस्ता हतियार इरानलाई नदिने आश्वासन दिएको दाबी गरेका छन्।
हालै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए। अमेरिकी चुनाव नजिकिँदै गर्दा ट्रम्पले यो युद्धलाई मत्थर पार्न खोजेका हुन् कि भन्ने चिन्ता इजरायली अधिकारीहरूले व्यक्त गरिरहेका बेला उनले भ्रमण गरेका हुन्।
विश्लेषकहरूका अनुसार गत जुनमा भएको युद्धविरामको प्रयास असफल भएपछि वासिङ्टन र तेहरानबिच पुनः कूटनीतिक वार्ता सुरु हुने कुनै सम्भावना देखिएको छैन। दुवै पक्षले एकअर्कालाई विश्वास गर्न छाडेका कारण मध्यपूर्वमा शान्ति स्थापनाको बाटो थप अनिश्चित बन्दै गएको छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया