दाङको गढवा गाउँपालिका–५, चिसापानीस्थित लमही–कोइलाबास सडक-खण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको थियो। दुर्घटना भएको बोलेरो कपिलवस्तुको शिवराज नगरपालिका–६, पैकिबण्डाका २५ वर्षीय अकवान अहमद मियाले चलाएका थिए।
दुर्घटनामा परी घाइते भएका तीन जनाको लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ। गम्भीर घाइते भएका दाङको गढवा गाउँपालिका–६, गढवा बजारका २६ वर्षीय सागर कुमाललाई टाउकोमा गम्भीर चोट लागेपछि प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र त्यसपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा बुधबार राति करिब ११:१५ बजे उनको मृत्यु भएको हो।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया