प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै संयमित हुन सबैलाई आग्रह गरेका छन्। मंगलबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुनसरीको घटनाले मानवता र सामाजिक सद्भावमा आघात पुगेको बताए।

प्रधानमन्त्री शाहले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जनाए। उनले भने, ‘सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ। फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।’

सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको घटनाबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कारबाही हुने उनले प्रस्ट पारे। उनले भने, ‘सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारेमा अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु। सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ।’

उनले थपे, ‘तपाईंहरूले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नुहुनेछ।’ उनले अगाडि भने, ‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ।’

उनले मनबाटै तुष, रिस, डर र आक्रोश हटाउन अनुरोध गरेका छन्। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नहुन उनको अपिल छ। शाहले सबैलाई सुरक्षित र संयमित भएर बस्न तथा सामाजिक सद्भाव कायम राख्न अनुरोध गरे।

हेर्नुस् उनको फेसबुक स्टाटस
नमस्कार। मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन। तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो। समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो। मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन। तर पनि घटनाक्रमहरू अशान्त भए।
प्रधानमन्त्रीकारूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु। यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु। सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ। फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ती पुग्दो भएनन्। सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारेमा अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु। सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ। सम्पूर्ण घटनाकाबारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको छ। तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ। त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला। हामीलाई धर्मले सिकाउने पनि त्यही हो।
मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ।
फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौँ। एक अर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ।