राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्नेछ। छलफलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।

सभापति लामिछानेले सम्बन्धित दलका नेताहरूलाई पत्राचार गर्नुका साथै व्यक्तिगत रूपमा फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेको महामन्त्री आचार्यले जानकारी दिएका छन्। सुनसरीको अत्यन्त संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति-सुरक्षा र द्वेष न्यूनीकरणका लागि प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक ठानेर सर्वदलीय छलफल आयोजना गरिएको उनले बताए।

‘अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं,’ आचार्यले भने।