सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको छ। (हिजो) आइतबार राति साढे १० बजेदेखि सुरु भएको झडपमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कप्तानगञ्जका ओमप्रकाश मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मेहताको मृत्यु प्रहरीकफ गोली लागेर भएको हो।
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले ७ राउण्ड गोली चलाएका थिए।
झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ १६ जना घाइते भएका छन्। कप्तानगञ्जस्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भएको थियो।
यसैबिच, सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने गरी आदेश जारी गरेका हुन्। राति १२:३० बजे जारी गरिएको उक्त आदेशमा तोकिएको सिमानाभित्र आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्रशासनले यस्तो कदम चालेको बताएको छ। प्रशासनले कानुन हातमा लिनेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।


प्रतिक्रिया