ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाको दुर्गम गाउँ याङ्मामा फोर जीसहितको टेलिकमको जडान गर्ने कार्यमा आवश्यक पहल गर्ने भएको छ।

पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले पालिकाको २० औं बजेट अधिवेशन तथा सभाबाट पारित नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न याङ्मामा फोर जी सेवासहितको सेवा टेलिकम टावर जडानका लागि पहल सुरु भएको जानकारी दिए।

अध्यक्ष लिम्बूका अनुसार पालिकाको अग्रसरतामा यसअघि पाथीभरा, लिङखिम, मुरिङला डाँडा, लोवा डाँडा, घुन्सा गाउँ र ओलाङचुङगोलामा फोर जी टावर जडान भई सेवा प्रवाह भइरहेको छ। याङ्मा गाउँमा समेत फोर जी सेवा प्रदान गर्ने गरी नेपाल टेलिकमसंग आवश्यक पहल भइरहेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिए।

फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा पर्ने याङ्मा गाउँ सञ्चारको अभाव र हिउँको प्रभावले पिरोलिएको गाउँ हो। सदरमुकाम फुङलिङदेखि एक दिन सवारी साधन र बाँकी दुई दिन पैदल यात्रामार्फत चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको समुद्र सतहबाट ४ हजार २ सय मिटर उचाइको याङ्मा गाउँ पुगिन्छ।

याङ्मा सञ्चारको पहुँच बाहिर रहेको जिल्लाकै उच्च हिमाली बस्ती हो। पालिकाले चालु आर्थिक वर्षका लागि गत असार १० गते सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सूचना सञ्चार तथा डिजिटल पूर्वाधारको माध्यममार्फत फक्ताङलुङ गाउँपालिकालाई प्रविधिमैत्री, पारदर्शी, उत्तरदायी, नागरिकमैत्री तथा स्मार्ट स्थानीय सरकारका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

पालिकाले चालु आवको नीति तथा कार्यक्रममार्फत सूचना तथा सञ्चार प्रविधिको पहुँचबाट कुनै पनि नागरिक वञ्चित नहुने गरी समावेशी डिजिटल पूर्वाधारलाई प्राथमिकता दिने लक्ष्य लिएको छ। याङ्मा गाउँमा समेत सञ्चारको पहुँच स्थापित भएपछि फक्ताङलुङ गाउँपालिकाका सबै गाउँमा सञ्चारको पहुँचमा पुग्ने पालिकाको बुझाइ रहेको छ।

गाउँपालिकाले नेपाल टेलिकम, नेपाल दूर सञ्चार प्राधिकरण र अन्य आवश्कीय निकायसँग समन्वय गरी पालिकाका सबै बस्तीमा गुणस्तरीय मोवाइल तथा उच्च गतिको इन्टर सेवा विस्तारका लागि पालिकाले आवश्यक पहलकदमी गर्ने भनेको छ।