शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गर्दै विद्यालय शिक्षाका चुनौती र सुधारका उपायबारे छलफल गरेका छन्।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विद्यालय शिक्षा ऐनको कार्यान्वयन, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत–साधन व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको थियो।

अन्तरक्रियामा प्रधानाध्यापकहरूले विद्यालय तहमा देखिएका व्यावहारिक समस्या, शिक्षा ऐन कार्यान्वयनका चुनौती तथा शिक्षा क्षेत्र सुधारका लागि आवश्यक नीतिगत सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा शिक्षामन्त्री पोखरेलले विद्यालयबाट प्राप्त सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्ने बताउँदै विद्यालय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन र सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आवश्यक पहल गरिने आश्वासन दिए। उनले शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरोकारवालासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने बताए।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि नीतिगत समाधानमा केन्द्रित भएर मन्त्रालयले काम गरिरहेको उल्लेख गरे।

कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।