सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा एक जनाको ज्यान जाने गरी भएको घटनाले यतिबेला देशको ध्यान तानेको छ। स्थानीय दुई समुदायबीचको विवाद हिंसात्मक बनेपछि सुनसरी, मोरङ, सिरहा, सप्तरीलगायत तराईका जिल्लामा घटनाको विरोधमा आन्दोलन सुरु भएको छ।

घटनाको प्रारम्भ साउने सोमबार शिवमन्दिरमा जल चढाउन कोशी नदीबाट जल ल्याउने तयारीका क्रममा भएको थियो। आइतबार राति भेला भएका युवाले डिजे बजाएको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै गएपछि नेपाल प्रहरी घटनास्थलमा पुग्यो। तर, अवस्था नियन्त्रणमा आउन नसकेपछि सशस्त्र प्रहरी बल समेत परिचालन गरिएको थियो।

दुई पक्षबीचको झडप उग्र बनेपछि प्रहरीमाथि पनि ढुंगामुढा भएको बताइएको छ। त्यसपछि प्रहरीले सुरुमा हवाई फायर गरेको थियो। रातिको समय र विद्युत् आपूर्ति अवरुद्ध भएकाले घटनास्थल अन्धकारमय बनेको प्रत्यक्षदर्शीहरू बताउँछन्। उनीहरूका अनुसार त्यसपछि गोली लागेर केही युवा ढलेपछि घटनास्थलमा भागदौड मच्चिएको थियो।

गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गरी विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा अस्पतालले एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

डिजे मात्र होइन, झण्डा विवाद पनि थियो तनावको कारण

घटना सतहमा डिजे बजाएको विषयबाट सुरु भएको देखिए पनि स्थानीयका अनुसार यसको पृष्ठभूमिमा झण्डा विवाद लामो समयदेखि रहेको थियो।

स्थानीय दिपेन्द्र झाका अनुसार मुस्लिम समुदायले मोहरम पर्वका क्रममा चोकमा राखेको झण्डा धार्मिक कार्यक्रम सकिएपछि हटाउन हिन्दु समुदायले पटक–पटक आग्रह गरेको थियो। यस विषयमा वडा नम्बर ३ का वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको भए पनि झण्डा हटाउने विषयमा कुनै चासो नदेखाइएको उनको दाबी छ।

झाका अनुसार झण्डा हटाउने र नरहटाउने विषयले दुई समुदायबीच सातादेखि असन्तुष्टि बढाइरहेको थियो। देवानगञ्ज–३ कप्तानगञ्जमा मुस्लिम समुदायले एक महिनाअघि मोहरमका क्रममा राखेको झण्डा अर्को समुदायको पर्व सुरु हुन लाग्दासम्म पनि नहटाइएपछि विवाद थप चर्किएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार प्रहरी प्रशासन र स्थानीय सरकारलाई विवाद बढ्दै गएको जानकारी हुँदाहुँदै पनि समयमै समाधानतर्फ पहल नगर्दा परिस्थिति नियन्त्रणबाहिर पुगेको हो।

प्रहरीसँग झडपपछि गोली चल्यो

आइतबार राति प्रदर्शन उग्र बनेपछि नेपाल प्रहरीलाई सहयोग गर्न सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो। त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणका लागि सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ।

तर, स्थानीयको दाबी अनुसार हवाई फायर भनिए पनि प्रदर्शनकारीको कम्मरमाथि गोली लागेको थियो, जसका कारण एक जनाको मृत्यु भएको र अन्य घाइते भएका थिए।

स्थानीयका अनुसार यसअघि पनि यस्ता विवाद पटक–पटक हुने गरेका थिए। तर, स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दलका नेता तथा धार्मिक अगुवाको सर्वपक्षीय छलफलमार्फत विवाद समाधान हुँदै आएको थियो।

यसपटक भने प्रारम्भिक चरणमै प्रभावकारी पहल हुन नसक्दा सानो विवादले ठूलो दुर्घटनाको रूप लिएको स्थानीयको भनाइ छ।

आन्दोलन तराईका जिल्लामा फैलियो

देवानगञ्ज घटनापछि सुरु भएको विरोध प्रदर्शन सुनसरीबाट फैलिँदै कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ। मंगलबार विराटनगर दिनभर प्रभावित रह्यो भने बुधबार मोरङको पुरानो सदरमुकाम रंगेली बजार स्थानीय युवाले बन्द गराएका छन्।

विराटनगरका शैक्षिक संस्था मंगलबार र बुधबार दुवै दिन बन्द गरिएका छन्।

घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरी सरकारले छानबिन समिति गठन गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। उनीहरूले घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै बुधबार देवानगञ्जमा प्रदर्शन समेत गरेका थिए।

घाइतेहरूको स्वास्थ्यमा क्रमिक सुधार

देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार भएको झडपमा घाइते भएकाहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केहीलाई गोली लागेको छ भने केही ढुंगामुढाबाट घाइते भएका छन्।

न्युरो अस्पतालमा ९ जना भर्ना भएका थिए। तीमध्ये एक जनाको मृत्यु भएको थियो भने बाँकी ८ जनाको उपचार जारी छ।

यस्तै, विराट नर्सिङ होममा ४ जना, नोबेल मेडिकल कलेजमा २ जना, विराट टिचिङ अस्पतालमा २ जना भर्ना भएका थिए, जसमध्ये एक जना मंगलबार उपचारपछि घर फर्किएका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, श्री अस्पतालमा १ जना, गोल्डेन अस्पतालमा २ जना तथा प्राइम अस्पतालमा २ जना घाइतेको उपचार भइरहेको छ।

उनका अनुसार गोली लागेका तीन जनाको शल्यक्रियापछि स्वास्थ्यमा सुधार हुँदै आएको छ। अन्य घाइतेहरूको अवस्था पनि सुधारोन्मुख रहेको चिकित्सकलाई उद्धृत गर्दै उनले जानकारी दिए।

कोशी प्रदेश सरकारद्वारा राहत घोषणा

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनामा मृत्यु भएका, घाइते भएका तथा आगजनी र तोडफोडबाट क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरेको छ।

प्रदेश सरकारले मृतकका परिवारलाई २ लाख रुपैयाँ तथा घाइते र आगजनी तथा तोडफोडबाट क्षति बेहोरेका परिवारलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा राहत घोषणा गरिएको हो। बैठकले घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सद्भाव र शान्ति सुरक्षालाई सुदृढ बनाउन आठबुँदे निर्णय पनि गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए।

बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक र प्रशासनिक पक्षबीच समन्वयात्मक पहल गरिने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

त्यसैगरी स्थानीय प्रशासनसँग समन्वय गरेर सद्भाव यात्रा, सार्वजनिक अपिल तथा मेलमिलापका कार्यक्रम सञ्चालन गरिने भएको छ। सबै धार्मिक समुदायका संघसंस्थाले संयुक्त अपिल जारी गरी सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने, सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

बैठकले प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना पुनः नदोहोरिने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। सर्वपक्षीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।