शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी आज धनगढी पुगेका थिए । सचिव पौडेलले आजै डा केसीसँग उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका थिए । त्यस क्रममा डा केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए ।

“आज डा केसी र उहाँका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ । आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ”, सचिव पौडेलले भने ।

सरकारले संवाद र सहमतिका माध्यमबाट डा केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ थियो ।

डा केसी विभिन्न पाँच बुँदे माग राखी तीन दिनदेखि अनसनमा बसेका छन् । उनको स्वास्थ्यमा समस्या आएपछि अनशनस्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट आजै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि राखिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा केसीसँग आज सचिव पौडेलसहित सामान्य संवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताए ।