बागमती प्रदेशमा सत्ता समीकरण फेरिएको छ। सरकारमा सहभागी नेकपा (एमाले)ले समर्थन फिर्ता लिँदै आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नेपाली कांग्रेस सरकार अल्पमतमा परेको छ।
बानियाँ २०८२ साउन २० गते कांग्रेस र एमालेका ६४ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर केन्द्रमा बदलिएको राजनीतिक समीकरणसँगै एमाले सरकारबाट बाहिरिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।
केन्द्रको निर्णयअनुसार एमालेका ६ मन्त्रीले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक राजीनामा बुझाएका हुन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रको औपचारिक निर्णय कार्यान्वयन गर्दै सरकारबाट बाहिरिएको बताए।
राजीनामा दिने मन्त्रीहरूमा डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ रहेका छन्।
कांग्रेस नयाँ समर्थनको खोजीमा
एमाले बाहिरिएसँगै मुख्यमन्त्री बानियाँले सरकार जोगाउन अन्य दलको समर्थन जुटाउनुपर्ने अवस्था आएको छ।
कांग्रेसका बागमती प्रदेशसभा सदस्य उत्तम जोशीले नयाँ सत्ता समीकरणबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए। उनले प्रतिपक्षविहीन सरकार कांग्रेसलाई स्वीकार्य नभएको स्पष्ट पार्दै सबै राजनीतिक दलसँग संवाद जारी रहेको बताए।
उनका अनुसार सबै दल मिलेर सरकार सञ्चालन गर्ने प्रस्ताव अन्य दलबाट आए पनि कांग्रेस सभापतिले त्यसलाई अस्वीकार गरेका छन्। साथै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस महामन्त्री गगनकुमार थापाबीच पनि यस विषयमा छलफल हुने तयारी रहेको उनले बताए।
एमाले–नेकपा सहकार्य, तर बहुमत अझै अपुग
बागमतीमा अब एमाले र नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सहकार्य गर्ने सहमति भएको एमाले संसदीय दलका नेता थपलियाले बताए। तर सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन। उनले प्रचण्ड काठमाडौं फर्किएपछि थप निर्णय हुने संकेत दिए।
नेकपाका प्रदेशसभा सदस्य सरल यात्री पौडेलले पनि एमालेसँग सहकार्य गरेर सरकार गठन गर्ने आधारभूत सहमति भएको पुष्टि गर्दै बहुमत जुटाउन अन्य दलसँग पनि छलफल अघि बढाइने बताए।
बहुमतका लागि अझै तीन मत आवश्यक
हाल बागमती प्रदेशसभामा १०४ सदस्य छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।
प्रदेशसभामा कांग्रेसका ३६, एमालेका २५, नवगठित नेकपाका २६, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हामी नेपाल पार्टीका २ सांसद छन्।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एकीकरणपछि बनेको नेकपासँग २६ र एमालेसँग २५ सांसद गरी ५१ मत पुग्छ। कार्यवाहक सभामुख एमालेकी अप्सरा चापागाईं भएकाले मतदानको अवस्थामा गठबन्धनसँग प्रभावकारी रूपमा ५० मत मात्र रहने सम्भावना छ। त्यसैले नयाँ सरकार गठनका लागि कम्तीमा तीन सांसदको थप समर्थन आवश्यक पर्ने देखिएको छ।
मन्त्रालय घटाइए पनि टिकेन गठबन्धन
नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट ८ मा झारेको थियो। मन्त्रालय पुनर्संरचनापछि एउटै मन्त्रालयमा एकभन्दा बढी मन्त्रीलाई जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर पुनर्गठन भएको केही समयमै कांग्रेस–एमाले गठबन्धन अन्त्य भएको छ।
संघीयता कार्यान्वयनपछि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ गरी छ जना मुख्यमन्त्री बनिसकेका छन्। वर्तमान सत्ता समीकरण परिवर्तन भए बानियाँको नेतृत्व पनि परिवर्तन हुने सम्भावना बलियो बनेको राजनीतिक विश्लेषण गरिएको छ।

प्रतिक्रिया