नयाँ नेपाली चलचित्र ‘एक्का मेसी बादशाह’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको घोषणा गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिइएको हो।
लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी साम्राज्ञी यसै चलचित्रमार्फत पुनः नेपाली रजतपटमा फर्किन लागेकी हुन्।
चलचित्रको निर्देशन बेलायतमा बस्दै आएका सञ्जय राईले गर्नेछन्। यो उनको पहिलो निर्देशकीय चलचित्र हुनेछ। उनले निर्देशनसँगै चलचित्रमा लगानी पनि गरेका छन्। चलचित्रकी निर्माता सुदिप्ता हुन्। यसअघि उनले ‘रमिताको पिरती’ निर्देशन गरिसकेकी छन्।
निर्माण टिमका अनुसार चलचित्रमा तीन मुख्य पात्र रहनेछन्। साम्राज्ञी मुख्य अभिनेत्रीका रूपमा निश्चित भइसकेकी छन् भने अन्य दुई पुरुष पात्र खुला अडिसनमार्फत छनोट गरिनेछ। निर्माण पक्षले नयाँ प्रतिभालाई अवसर दिने तयारी गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै साम्राज्ञीले लामो समयपछि चलचित्रमा फर्कनुको कारण पनि खुलाइन्। उनले भनिन्, “यसअघि पनि धेरै चलचित्रका प्रस्ताव आएका थिए। तर धेरैको कथा मलाई मन परेन। ‘एक्का मेसी बादशाह’को स्क्रिप्ट पढेपछि भने यो पात्र मेरै लागि लेखिएको जस्तो महसुस भयो, त्यसैले काम गर्न तयार भएँ।”
निर्देशक सञ्जय राईका अनुसार चलचित्रको छायांकन आगामी फागुन–चैतदेखि सुरु गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया