अविरल वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार विभिन्न स्थानमा गएको पहिरो र बाढीका कारण नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यद्यपि, बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सुचारु हुने प्रहरीले बताएको छ। त्यस्तै, कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
इलामको राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जानकारी दिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर, दोलखाको किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्ड, रोल्पाको खोलावाङस्थित घोराही-थवाङ सहिद राजमार्ग, मुगुको पिना खोलास्थित नाग्म-गमगडी सडक, रसुवाको कुलुङस्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको म्याग्दे भीरस्थित बेँसीसहर-चामे-मनाङ सडकखण्ड पनि पहिरो र लेदोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
दोलखाको लामासाँघु-रामेछाप सडकखण्डमा तामाकोशी नदीको कटानका कारण सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसरबाट वैकल्पिक बाटो खुलाइएपछि अहिले सडक सुचारु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया