ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सो दुर्घटना पाँच जना घाइते भएका छन्। महाँकाल गाउँपालिका-३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा २ च ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका-२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनाग्रस्त स्कार्पियो भक्तपुरको सानोठिमीस्थित एसओएस बालग्रामको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार रहेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय चालक शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कार्पियोमा चालकसहित ६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा र एक जनाको महाँकाल गाउँपालिका-२ मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था मध्यम रहेको छ। दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ।

बी एन्ड बी अस्पतालमा उपचाररत काठमाडौंको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतिवडा, नवलपरासीको गैँडाकोट घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई हाल काठमाडौं बस्दै आएकी ३६ वर्षीया डिना सोनाहा र नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका २६ वर्षीय देवेन्द्रराज पाण्डे रहेका छन्।

त्यसैगरी, मानिखेल स्वास्थ्य चौकीमा काठमाडौंको कीर्तिपुर नगरपालिका-५ निवासी ३९ वर्षीय निशान महर्जनको उपचार भइरहेको छ।