चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच सातबुँदे सहमति भएको छ। सहमतिपछि डा. केसीले बाजुराको गौमुल गाउँपालिका–२ निवासी ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन तोडे।

सहमतिपत्रको पहिलो बुँदामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा (कैलाली)लाई पूर्ण क्षमतामा सञ्चालन गर्ने उल्लेख गरिएको छ। कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्दै एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गरिने सहमति भएको हो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १२(१)(क) बमोजिम ३०० शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अघि बढाउने तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति गरिएको छ।

त्यस्तै, विश्वविद्यालय सभाबाट पारित निर्णयअनुसार एमबीबीएसलगायतका कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी भर्ना, जनशक्ति नियुक्ति, पाठ्यक्रम स्वीकृति तथा अन्य शैक्षिक तयारी तत्काल पूरा गरिनेछ। शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण खरिदसहित सम्पूर्ण पूर्वाधार व्यवस्थापन पनि तत्काल गर्ने सहमति भएको छ।

सहमतिअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२लाई विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा समेटी पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी प्रावधान संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनभित्र अर्थात् तीन महिनाभित्र अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेश गरिनेछ।

चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, नियमावली, २०७७ तथा शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन र सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार सिट निर्धारण गर्ने सहमति भएको छ।

यससँगै निजी शिक्षण संस्थामा सिट संख्या नबढाउने, तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकताअनुसार सिट वृद्धि गर्न बाधा नपर्ने तथा छात्रवृत्तिसम्बन्धी विद्यमान कानुनी व्यवस्था यथावत् राख्ने सहमति गरिएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ अनुसार चिकित्सा शिक्षासम्बन्धी संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थामा रूपान्तरण गर्ने विषयमा अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव सरकारसमक्ष पेश गर्नेछ। उक्त कार्यदलले छ महिनाभित्र राय–सुझावसहित प्रतिवेदन बुझाउनेछ।

त्यस्तै, सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रका नागरिक स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक पूर्वाधार र सेवा विस्तारका लागि संघ र प्रदेश सरकारले समन्वय गर्ने सहमति पनि भएको छ।

सहमतिपत्रमा २०८२ भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीमाथि कडा कारबाही गर्ने उल्लेख छ। साथै २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ तथा पदाधिकारीबाट भएका भ्रष्टाचार र अपराधका घटनाको निष्पक्ष छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन थप तदारुकता अपनाउने प्रतिबद्धता जनाइएको छ।

यसअघि भएका सहमतिको कार्यान्वयन अवस्थाबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधि रहने कार्यदल तत्काल गठन गरिनेछ। कार्यदलले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ।

सहमतिको कार्यान्वयन अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरिने उल्लेख गरिएको छ।

सहमतिपत्रमा डा. गोविन्द केसीका तर्फबाट हस्ताक्षर भएको छ भने सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले हस्ताक्षर गरेका छन्।

रोहवरमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य पुकार बम र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालले हस्ताक्षर गरेका छन्।

यसअघि सोमबार दिउँसो सरकार र डा. केसी पक्षबीच भएको सहमतिको मस्यौदा प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसमक्ष पठाइएको थियो।

वार्ताका क्रममा गेटा विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने सहमति बनेको चर्चा भए पनि उनले खुलापत्रमार्फत राजीनामा नदिने अडान लिएपछि डा. केसी उक्त मागबाट पछि हटेका थिए।

आइतबार र सोमबार सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा सरकार र डा. केसी पक्षबीच वार्ता भएको थियो। चिकित्सा शिक्षा र स्वास्थ्य सुधारसम्बन्धी पाँचबुँदे मागका विषयमा आइतबार करिब ११ घण्टा लामो छलफल भएको थियो भने सोमबार पनि वार्ता निरन्तर चलेको थियो।

डा. केसीले गत बिहीबार धनगढीस्थित कृष्ण मन्दिरबाट आफ्नो २४औँ सत्याग्रह सुरु गरेका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। सातबुँदे सहमतिसँगै उनको पाँचदिने अनशन अन्त्य भएको छ।