लमजुङको सदरमुकाम बेसीशहरमा विगत तीन दिनदेखि ‘भूत’ को अफवाहले सर्वसाधारणमा त्रास फैलाएको छ। यहाँका चियापसल, चोक, चौतारा र घर-घरमा एउटै विषयमा गाइँगुइँ चलिरहेको छ। ‘पुमाखोलामा भूतले मान्छेमाथि आक्रमण गर्‍यो रे !’

बेसीशहरवासीका अधिकांशको मोबाइलमा अहिले एउटा विभत्स तस्बिर सेभ छ। तस्बिरमा एक जना युवाको अनुहार र शरीरभरि कसैले नङ्ग्राले गहिरोसँग कोतारेको र रगत बगेको जस्तो दृश्य देखिन्छ।

यो तस्बिर म्यासेन्जरमा आगोझैँ फैलिएपछि सिङ्गो बेसीशहर र आसपासका क्षेत्रमा मनोवैज्ञानिक त्रास छाएको छ। साँझ परेपछि घरबाहिर निस्कने मानिसहरूको सङ्ख्या केही घटेको छ भने बजारको चहलपहलमा समेत अस्वाभाविक कमी आएको छ।

के थियो भाइरल हल्ला ?

सामाजिक सञ्जालमा फैलिएको दाबी र स्थानीयस्तरमा एक कान, दुई कान हुँदै फैलिएको हल्ला अनुसार घटना गत साउन १२ गते मङ्गलबार साँझको हो।

बेसीशहर नजिकै रहेको मइयुमस्थित पुमाखोला क्षेत्रमा केही युवाहरू साथीको जन्मदिन मनाउन गएका थिए। एकान्त ठाउँ, खोलाको किनार र साँझको समयमा उनीहरूले केक काट्ने तयारी गर्दै थिए।

हल्लामा दाबी गरिए अनुसार, त्यही बेला अचानक एउटा डरलाग्दो आकृति (भूत) त्यहाँ प्रकट भयो। भूतले युवाहरूलाई लखेट्न थाल्यो र भाग्ने क्रममा एक जना युवालाई समातेर शरीरभरि नङ्ग्राले कोतरी सख्त घाइते बनायो।

भाइरल भइरहेको तस्बिर तिनै घाइते युवाको भएको र उनलाई भूतले आक्रमण गरेको भन्दै रातारात यो हल्ला बेसीशहरभरि फैलियो। ‘पुमाखोलामा भूतले मान्छे टोक्यो रे, केक सबै खाइदियो रे’ भन्ने मनगढन्ते कथाहरूले स्थानीयलाई त्रसित बनाउन थाले।

हल्ला यतिसम्म प्रभावशाली बन्यो कि यसले सर्वसाधारणको दैनिकी र योजनामा प्रत्यक्ष असर पार्न थाल्यो। विशेषगरी बालबालिका, महिला र वृद्धवृद्धाहरू यो घटना सुनेर बढी त्रसित बनेका छन्।

स्थानीय शर्मिला गुरुङ यो हल्लाले आफ्नो योजना कसरी बिथोल्यो भन्ने अनुभव सुनाउँछिन्। उनी भन्छिन्, ‘हामी साथीहरू मिलेर पिकनिक जाने भनेर सल्लाह गरिरहेका थियौँ। सबै तयारी हुँदै थियो। तर आमाले म्यासेन्जरमा आएको त्यो डरलाग्दो फोटो र भिडियो देखाउनुभयो। यस्तो भूतले मान्छेलाई आक्रमण गरेको खबर आइरहेका बेला त्यता जानू हुँदैन भनेर आमाले रोक्नुभयो। घरमा सबै डराएपछि पछि हामीले पिकनिकको पूरै प्लान नै क्यान्सिल गर्नुपर्‍यो।’

शर्मिलाको जस्तै अवस्था अन्य धेरै स्थानीयको पनि छ। बेसीशहरका व्यापारी सन्तोष अर्याल भन्छन् ‘सञ्जालमा आएको कुरालाई मानिसहरूले आँखा चिम्लिएर विश्वास गरे। बाटोमा हिँड्ने स्कुले केटाकेटीहरू पनि भूतको कुरा गरेर डराइरहेका हुन्छन्। बजारमा एक किसिमको अघोषित सन्त्रास फैलिएको छ,’ उनले भने।

प्रहरीको दौडधुप

गाउँदेखि बजारसम्म भूतको हल्लाले खैलाबैला मच्चाएपछि र जनमानसमा त्रास फैलिएपछि यो विषय लमजुङ जिल्ला प्रहरी कार्यालयसम्म पुग्यो। शान्ति सुरक्षा र जनमानसको त्रास हटाउन प्रहरीले तत्कालै एक्सन लियो।

प्रहरीको एउटा टोली हल्ला फैलिएको भनिएको घटनास्थल, अर्थात् मइयुम नजिकैको पुमाखोला क्षेत्रमा पुग्यो। प्रहरीले त्यस क्षेत्रमा वरपर सोधपुछ गर्‍यो, स्थानीयसँग जानकारी लियो र कुनै शङ्कास्पद गतिविधि भएको छ कि भनेर खोजी गर्‍यो। तर, त्यहाँ कुनै पनि घटना भएको नामोनिसान भेटिएन।

त्यसपछि प्रहरीले जिल्लाका अस्पताल र क्लिनिकहरूमा सम्पर्क गर्‍यो। यदि भूतले वा कुनै जङ्गली जनावरले नै आक्रमण गरेको भए पनि घाइते व्यक्ति त उपचारका लागि अस्पताल पुग्नुपर्ने थियो। तर, जिल्लाको कुनै पनि स्वास्थ्य संस्थामा भाइरल तस्बिरमा देखिएजस्तो चोटपटक लागेको कुनै पनि बिरामी नआएको पुष्टि भयो।

प्रहरी अनुसन्धानबाट लमजुङमा त्यस्तो कुनै घटना नभएको निष्कर्षमा पुग्यो। लमजुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले यसलाई विशुद्ध हल्ला मात्र भएको बताए।

नागरिक न्युजसँग कुराकानी गर्दै सूचना अधिकारी क्षेत्रीले भने, ‘अहिले धेरै भाइरल छ यो। हामी पनि हिजैदेखि अनुसन्धानमा लागिपरेका थियौँ, तर कहाँ कतै केही भेटिएन। कुरा आइसकेपछि हामी घटना भएको भनिएको ठाउँसम्मै पुग्यौँ, केही भेटिएन। कसैलाई आक्रमण भएको पनि छैन। कसैले हल्ला फैलाएछ।’

उनले यस्तो भ्रामक हल्ला फैलाउनेको खोजी भइरहेको बताए। ‘सुरुमा कसले र किन यस्तो हल्ला फैलायो भनेर प्रहरीसँग यकिन जानकारी छैन। तर, जसले यो हल्ला फैलाएर जनतामा त्रास मच्चाएको छ, त्यो व्यक्ति भेटियो भने हामी कानुनी कारबाही गर्छौँ।’ उनले भने।

कतै घटना नै नभएपछि फोटो आयो कहाँबाट ?

हामीले सुरुमा भाइरल भएको तस्बिरलाई इन्टरनेटमा ‘रिभर्स इमेज सर्च’ प्रविधिको प्रयोग गरेर खोज्यौँ। यसरी खोज्ने क्रममा दाबी गरिएका ती तीन जना केटाहरूको कथा र फोटो कुनै साँचो घटना नभई इन्टरनेटमा भाइरल बनाउन बनाइएको एउटा प्र्याङ्क भिडियो भएको भेट्यौँ। यो तस्बिर लमजुङको पुमाखोलाको त परै जाओस्, नेपालकै पनि थिएन।

वास्तवमा, यो भिडियो भारतीय युट्युब र फेसबुक प्लेटफर्महरूमा हरर भ्लग बनाउने ‘ओम भ्लग’ नामक च्यानलको टिमले निर्माण गरेको हो। तस्बिरमा देखिएका ती युवाहरू कुनै भूतको आक्रमणमा परेका सर्वसाधारण पीडित नभएर व्यावसायिक रूपमा यस्ता स्क्रिप्टेड वा काल्पनिक हरर भिडियोहरू बनाउने सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर हुन्।

यो भिडियो बनाउने मुख्य भ्लगर ओम दुबे र उनको टिम भारतको उत्तर प्रदेशस्थित प्रयागराज (इलाहाबाद) क्षेत्रका बासिन्दा हुन्। उनीहरूले प्रयागराजकै एक मसानघाट नजिकै गएर यो नक्कली बर्थडे प्र्याङ्क भिडियो सुट गरेका थिए।

भिडियोमा देखिएको घाउ, रगत र कोतारेको दाग सबै मेकअप आर्टिस्टले बनाएको कृत्रिम मेकअप मात्र थियो। भिडियोलाई डरलाग्दो र वास्तविक जस्तो देखाउन उनीहरूले प्रोफेसनल मेकअपको प्रयोग गरेका थिए।

जब यो प्र्याङ्क भिडियो इन्टरनेटमा आयो, मानिसहरूले यसको स्क्रिनसट लिएर मनगढन्ते कथा बुन्न थाले। आजभन्दा करिब तीन वर्षअघि भारतको मध्य प्रदेश राज्यको ग्वालियर सहरमा यही फोटो राखेर हल्ला फैलाइएको थियो। त्यतिबेला ग्वालियर किल्लाभित्र मध्यरातमा केक काट्न छिरेका युवाहरूलाई भूतले आक्रमण गर्‍यो भनेर दाबी गरिएको थियो।

त्यसको एक वर्षपछि, अर्थात् आजभन्दा करिब दुई वर्षअघि यही फोटो नेपाल प्रवेश गर्‍यो। चितवनको जङ्गल नजिकै एक एकान्त रिसोर्टमा मध्यरातमा बर्थडे केक काट्दा भूत देखा पर्‍यो भन्दै फेसबुक र टिकटकमा हावा फैलाइयो। पछि त्यही फोटोलाई नारायणी नदी किनारमा भूत देखिएको भनेर पनि प्रचार गरियो।

र, अहिले साउन १२ गतेदेखि त्यही पुरानो भारतीय भिडियोको फोटोलाई लमजुङको मइयुमस्थित पुमाखोलाको घटना भन्दै बेसीशहरमा भाइरल बनाइएको हो।